काठमाडौं : ५० वर्षको अवधिलाई मूल्यांकन गर्ने हो भने मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण पृथ्वीमा निकै ठूलो परिवर्तन भइसकेको छ। संसारका अन्य स्थानको तुलनामा नेपालको तापक्रम बढ्ने दर उच्च रहेको वैज्ञानिक तथ्यहरू छन्। यसमा नेपालको भौगोलिक विविधताले पनि ठूलो भूमिका खेलेको बताइन्छ। विशेषगरी नेपालको तराईमा भन्दा उच्च भू–भागहरूमा तापक्रम बढ्ने क्रम द्रुत रहेको छ। विश्वको औसत तापक्रम बढ्ने दर प्रतिवर्ष ४०.०२४ डिग्री सेल्सियस छ। तर, नेपालको तापक्रम औसतमा ४०.०४४ देखि ४०.०६४ डिग्री सेल्सियससम्म बढिरहेको छ ।
नेपालमा विशेषगरी जाडोयाम पहिलेको तुलनामा छोटो भएको छ। पहाडी तथा हिमाली भेगमा तुसारो र हिमपात कम हुन थालेको छ। प्रि–मनसुनको समयमा पनि खडेरी र तापक्रम वृद्धिका कारण डढेलोका घटनाहरू बढेका छन्। यसले वायु प्रदूषणको उच्च जोखिम निम्त्याइरहेको छ। मनसुनको प्रकृतिमा पनि फेरबदल आएको छ। मनसुनको पूर्वानुमान गर्न कठिन हुँदै गएको मौसमविदहरू बताउँछन् ।
हिजोआज या त कम वर्षा हुन्छ, या त अत्यधिक भारी वर्षा हुने प्रवृत्ति बढेको छ। यसले अपत्यारिला विनाशहरू निम्त्याउनुका साथै हजारौंको ज्यान लिइरहेको छ। बेमौसमी वर्षा र बाढी–पहिरोको समस्या दिनानुदिन बढ्दो छ।
पृथ्वीको क्षयीकरण अहिले एउटा गम्भीर समस्या बनेको छ। प्राकृतिक सन्तुलन बिग्रिँदै गएपछि विभिन्न खालका विपत्तिहरूको सामना गर्नु परिरहेको छ। वनजंगल मासिएका कारण बाढी–पहिरोको जोखिम बढेको छ भने उर्वर भूमि बिस्तारै मरुभूमीकरण हुन थालेको छ। माटोको उर्वराशक्ति बिगार्ने गरी रासायनिक मलको अत्यधिक प्रयोग भइरहेको छ। वन्यजन्तु र वनस्पतिहरू लोप हुँदै गएका छन्।
वायु प्रदूषणका कारण नेपालमा मात्रै प्रत्येक वर्ष झन्डै ४८ हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ। प्लास्टिक र औद्योगिक प्रदूषणका कारण मानिसमा मात्र नभई जीवजन्तु र चराचुरुंगीको अस्तित्वमा समेत संकट थपिएको छ। ओजोन तह पातलिँदै जाँदा सूर्यको हानिकारक परावैजनी किरणहरूले मानव स्वास्थ्य र बालीनालीमा प्रत्यक्ष क्षति पुर्याइरहेका छन् । विश्वव्यापी परिवेशलाई हेर्दा, करिब सय वर्षको अवधिमा संसारको झन्डै आधा भू–भाग मानव बस्ती र सहरले भरिएको छ। सहरीकरण तीव्र गतिमा विस्तार भएको छ। ‘द लिभिङ प्लानेट’ रिपोर्टका अनुसार, औसतमा ७० प्रतिशत स्तनधारी जीव, चरा र माछाका प्रजातिहरू लोप भइसकेका छन्। प्लास्टिक प्रदूषणले अर्को ठूलो संकट निम्त्याएको छ। सन् १९५० पछि मात्रै ९ बिलियन टन प्लास्टिक उत्पादन भएको छ। समग्रमा, पृथ्वीको तापक्रम बढ्ने दर र वातावरणीय विनाशको गति निकै चिन्ताजनक ढंगले उकालो लागिरहेको छ।









