२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

फुटको संघारमा अधिकांश दल : नेतृत्व संघर्षले बढायो संकट

 

काठमाडौं : नेपालका राजनीतिक दलहरूमा आन्तरिक शक्ति संघर्ष नयाँ विषय होइन। तर पछिल्लो समय प्रमुख राजनीतिक दलहरूभित्र देखिएको ध्रुवीकरण, नेतृत्व विवाद र संगठनात्मक असन्तुष्टिले अधिकांश दलहरू विभाजनको संघारमा पुगेका छन्।

आफूलाई लोकतान्त्रिक, वामपन्थी, दक्षिणपन्थी वा राजावादी भन्ने सबैजसो दलहरू अहिले आन्तरिक संकटबाट गुज्रिरहेका छन्। 

नेपाली कांग्रेसदेखि नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्ममा नेतृत्व, संगठन र भविष्यको राजनीतिक दिशालाई लिएर गम्भीर विवाद देखिएको छ। 

कतिपय दलमा विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी छ भने कतिपय दलमा शक्ति संघर्ष निर्णायक मोडमा पुगेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत आन्तरिक शक्ति संघर्षबाट अछुतो छैन। 

कांग्रेस व्यवहारमा विभाजन

नेपाली कांग्रेस व्यवहारिक रूपमा दुई चिरा भइसकेको छ। संस्थापन र इतर समूहबीच बढ्दो अविश्वास, अलग–अलग भेला, समानान्तर गतिविधि तथा १५औँ महाधिवेशनको तयारीले पार्टीभित्र दुई धार स्पष्ट देखिएको छ।

विराटनगरमा आयोजित इतर पक्षको भेलामा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नै कांग्रेस ‘व्यावहारिक रूपमा फुटिसकेको’ टिप्पणी गरे। उनका अनुसार लामो संघर्ष र बलिदानबाट निर्माण भएको कांग्रेसलाई योजनाबद्ध रूपमा विभाजित बनाइएको हो।

इतर समूहले सभापति गगन थापा नेतृत्वको संस्थापनले नै पार्टीलाई एकताबद्ध बनाउन प्रभावकारी पहल नगरेको आरोप लगाउँदै आएको छ। पूर्वउपसभापति पूर्णबहादुर खड्काले सभापतिसँग लामो समयदेखि संवाद नभएको सार्वजनिकरूपमा उल्लेख गरेका छन्।  

प्रकाशशरण महतले पनि भागवण्डा होइन, निष्पक्ष महाधिवेशनको वातावरण चाहिएको बताएका छन्। त्यसका लागि साझा संयन्त्र गठन गरेर विवाद समाधान गर्नुपर्ने प्रस्ताव इतर पक्षले अघि सारेको छ। 

तर संस्थापन पक्षले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै वैधानिक भएकाले अर्को संयन्त्र आवश्यक नरहेको अडान राखेको छ।

क्रियाशील सदस्यता अद्यावधिक, विधान संशोधन र महाधिवेशनको प्रक्रियालाई लिएर दुवै पक्षबीच अविश्वास बढ्दै गएको छ। यद्यपि दुवै समूहका नेताहरूले सार्वजनिक रूपमा भने पार्टी एकताबद्ध हुनुपर्ने बताउँदै आएका छन्। तर व्यवहारमा भने कांग्रेसभित्र समानान्तर राजनीतिक अभ्यास बढ्दो क्रममा देखिन्छ।

एमाले निर्णायक मोडमा 

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निरन्तरता दिने वा पार्टी पुनर्गठन गर्ने भन्ने बहस अहिले निर्णायक मोडमा पुगेको छ। सचिवालय बैठकले गठन गरेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’ पछि यो विवाद केन्द्रीय नेतृत्वबाट प्रदेश र जिल्ला तहसम्म फैलिएको छ।

बागमती प्रदेशस्तरीय भेलामा पार्टीभित्र ‘नेतृत्व परिवर्तन कि वर्तमान नेतृत्वको निरन्तरता’ भनेर दुई धार रहेको खुलेआम देखियो। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ओलीको पक्षमा उभिँदा उपाध्यक्ष विष्णु पौडेल तथा महासचिव शंकर पोखरेल लगायतले पार्टीलाई नतेृत्व परिवर्तनसहित नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

चुनावी हार, कमजोर बन्दै गएको जनाधार र संगठनात्मक चुनौतीलाई आधार बनाएर अधिकांश नेताहरूले नेतृत्व परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।   तर अध्यक्ष ओली भने नेतृत्व छाड्ने मनस्थितिमा छैनन्। आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष भएकाले कठिन परिस्थितिमा पनि आफूले नै नेतृत्व गर्ने तर्क उनको छ।  

पार्टीभित्रका पुनर्गठन पक्षधर नेताहरू भने ओली अहिले सचिवालयमै अल्पमतमा परिसकेको दाबी गर्छन्। उनीहरूका अनुसार पार्टी पुनर्गठन कार्यदलले समेत नयाँ नेतृत्वको आवश्यकता औँल्याउने निष्कर्षसहित प्रतिवेदन दिने सम्भावना छ।

यसले एमालेभित्रको शक्ति संघर्ष अब केवल विचारको बहसमा सीमित नरही नेतृत्व परिवर्तनको वास्तविक अभियानमा रूपान्तरण भएको देखाउँछ। 

नेकपामा पनि पुस्तान्तरणको दबाब

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि आगामी महाधिवेशनलाई केन्द्रमा राखेर नेतृत्व परिवर्तनको विषय आन्तरिक बहसमा छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपाल दुवै नेतृत्वबाट पछि हट्ने संकेत नदेखिएकाले महाधिवेशन नजिकिँदै जाँदा अन्तरसंघर्ष चर्किने अनुमान गरिएको छ।

पार्टीभित्रका युवा नेताहरू भने अब परम्परागत नेतृत्व र पुरानै शैलीको वाम एकताले समस्या समाधान नहुने बताउँछन्। उनीहरू पुस्तान्तरण र रूपान्तरणसहितको नयाँ राजनीतिक पुनर्गठनको पक्षमा छन् ।

युवा नेता रञ्जित तामाङका अनुसार कम्युनिष्ट आन्दोलन अहिले पुनर्गठन र विघटनमध्ये एक विकल्प रोज्ने मोडमा पुगेको छ। उनले २०७४ सालको नेकपा पुनरावृत्ति नभई नयाँ पुस्ताको नेतृत्वमा आधारित एकता आवश्यक रहेको बताएका छन् ।

यस्तै नेता माधव सापकोटाले पनि परम्परागत एकताले मात्रै वाम आन्दोलनलाई अघि बढाउन नसक्ने भन्दै महाधिवेशनपछि नयाँ ढंगको पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्। नेकपा युवा नेताहरूको एउटै आशय हो– नेतृत्व पुस्तान्तरणपछि नयाँ ढंगको वाम एकता।

राप्रपा सम्पूर्ण रुपमै विभाजन

राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने सम्पूर्णरूपमा नै विभाजन भएको छ। महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा ठूलो समूहले पार्टी परित्याग गरेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारी थालेको छ ।

विद्रोही समूहले पार्टी नेतृत्वमाथि वैचारिक विचलन, परिवारवाद, संगठनात्मक कमजोरी तथा निरंकुश कार्यशैली अपनाएको आरोप लगाएको छ। पार्टी आफ्नो मूल एजेण्डाबाट विचलित भएको उनीहरूको जिकिर छ। 

तर राप्रपा नेतृत्व भने यसलाई पार्टी विभाजन नभई केही असन्तुष्ट नेताहरूको बहिर्गमनका रूपमा व्याख्या गरिरहेको छ। महामन्त्री राजेन्द्र गुरुङले पार्टी फुटेको नभई केही व्यक्तिहरू मात्र बाहिरिएको दाबी गरेका छन् ।

राप्रपाको विभाजनले केवल एउटा दलको आन्तरिक संकट मात्र देखाएको छैन, यसले समग्र राजावादी आन्दोलनको भविष्यबारे समेत प्रश्न उठाएको छ ।

रास्वपामा पनि गुटबन्दी र हिंसात्मक प्रतिस्पर्धा

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि अहिले आन्तरिक विवादबाट मुक्त छैन। प्रथम महाधिवेशनअघि भएका जिल्ला र प्रदेश अधिवेशनमा देखिएको झडप, गुटबन्दी र असन्तुष्टिले पार्टीभित्रको संकट सतहमा ल्याएको छ।

महोत्तरी, सर्लाही, धनुषा, पर्सा, उदयपुर, सिन्धुपाल्चोक लगायतका जिल्लामा नेतृत्व चयनका क्रममा विवाद, भनाभन र कुटाकुटसम्मका घटना भए। कतिपय स्थानमा निर्वाचन प्रक्रिया नै स्थगित गर्नुपर्ने अवस्था बन्यो। 

बागमती र कोशी प्रदेश अधिवेशनमा समेत गम्भीर विवाद देखिएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको थियो। केही नेताहरूले त गुटबन्दी र हस्तक्षेपको आरोप लगाउँदै पार्टी नै परित्याग गरेका छन् ।

पुराना दलहरूको आलोचना गर्दै उदाएको रास्वपाले आफैँभित्र त्यस्तै प्रवृत्तिको सामना गर्नुपरेको भन्दै आलोचना भइरहेको छ। पार्टी सभापति रवि लामिछानेले सार्वजनिक रूपमा नेतृत्वको आकांक्षाभन्दा माथि उठ्न आग्रह गरे पनि तल्लो तहमा देखिएको प्रतिस्पर्धा मर्यादित भएन । 

किन बढ्दैछ दलहरूमा विभाजनको जोखिम ?

राजनीतिक विश्लेषक भीम भुर्तेल अहिले देखिएको विभाजनको मुख्य कारण राजनीतिक शक्ति सन्तुलन परिवर्तनको अपेक्षा भएको बताउँछन्। पुराना दलभित्र दोस्रो पुस्ताका नेताहरूले नेतृत्व परिवर्तनमार्फत नयाँ जनसमर्थन प्राप्त गर्न सकिने विश्वास गरेकाले पछिल्लो समय दलहरूमा फुट तथा फुटका रेखाहरू कोरिएका हुन्।

‘अहिले दलहरूमा देखिएको विभाजनको मूल कारण चाहिँ भदौ २३ र २४ पछि देश जता गयो, जुन पुस्तालाई भरोसा गर्‍यो, त्यहीतर्फ ढल्कने र त्यसैलाई मौकाका रूपमा लिन खोज्दा भएको देखिन्छ’, उनी भन्छन्, ‘खासगरी पुराना दलहरूमा नेतृत्व नयाँ ल्याउने, र अहिलेसम्मका सबै दोष हटेर जाने वा हटाइनेलाई खन्याएर फेरि जनसमर्थन प्राप्त गर्ने भन्ने रणनीति देखिन्छ। दोस्रो पुस्ताको सोही बुझाइ वा उद्देश्यले पार्टीहरूमा विभाजन भएका र विभाजन रेखाहरू कोरेको देखिन्छ।’

तर विश्लेषक भुर्तेल परम्परागत दलहरूका उक्त एजेन्डा पनि जनतामा बिक्ने सम्भवाना कम देख्छन्। अबको करिब एक दशकको नेपालको राजनीति मूलतः दुई ध्रुव एकातिर परम्परागत दलहरूको गठबन्धन र अर्कोतिर वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरण हुन सक्ने भएकाले पाका पुस्तालाई विस्थापन गर्ने पुरानाका दलहरूका एजेण्डा नबिक्ने उनको विश्लेषण छ । 

‘महत्त्वपूर्ण कुरा त्यो (पाका पुस्ताको विस्थापन) एजेन्डा जनतामा बिक्री हुन्छ कि हुन्न भन्ने हो’, उनी भन्छन्, ‘म चाहिँ त्यो एजेण्डा जनतामा बिक्ला जस्तो देख्दिनँ। किनभने अब एकदशक नेपालको राजनीति दुई ध्रुवमा अघि बढ्ने देखिन्छ। एकतातिर कांग्रेस, वामन्थी र राजावादी र अर्कोतिर भदौ २३÷२४ (जेनजी आन्दोलन) पक्षधर । यसो हुँदा नयाँकै पक्षमा जनमत जाने देखिन्छ ।’  

राजनीतिक अध्येता पिताम्बर भण्डारी नेतृत्व तहमा पुगेका नेताहरूको पदीय आकांक्षा र शक्ति नियन्त्रणको चाहनालाई विभाजनको प्रमुख कारणका रुपमा औल्याउँछन्। उनका अनुसार संगठनभित्र आफ्नो प्रभाव स्थापित गर्ने र स्रोत-साधनमाथि नियन्त्रण कायम राख्ने प्रतिस्पर्धाले दलहरूमा गुटबन्दी बढाएको हो।

‘दलहरू विभाजन हुनु वा विभाजनतर्फ धकेलिनुमा प्रमुख चाहिँ नेतृत्व तहमा पुगेका नेताहरूको पदीय आकांक्षा नै हो’, उनी भन्छन्, ‘स्वाभाविक ढंगले दलहरूभित्र बसेपछि दलभित्र स्थापित हुन, वर्चस्व लिन र स्रोतहरूमाथि आफ्ना जायज स्वमित्व ग्रहण गर्न खोज्ने प्रयास भइहाल्छ। संगठनमा आफूले भनेअनुसारको सोच, विचार, सिद्धान्त अनुसारका कुरा लागु गर्न, पार्टीलाई सोही ढंगले दिशानिर्देश गर्ने कुरा नेतृत्व तहमा पुगिसकेका नेतामा हुन्छ।’ 

अहिलेका अधिकांश दलहरू वैचारिक स्पष्टताको संकटमा परेको भन्दै त्यसलाई पनि भण्डारी अर्को कारकका रूपमा अर्थ्याउँछन् । दलहरू आफ्नै सिद्धान्त र राजनीतिक दिशाबारे द्विविधामा परेकाले संगठनात्मक अस्थिरता बढेको बुझाइ उनको छ । 

‘अहिले कुनै पनि दलहरू आफूले लिइरहेका सैद्धान्तिक र वैचारिक अडानहरूमा दुविधामा परेका जस्तो देखिन्छन्’, उनी भन्छन्, ‘यसले गर्दा पनि दलहरूमा विभाजनका रेखा कोर्ने काम गरेको देखिन्छ ।’  

रास्वपाजस्ता नयाँ दलमा भने लामो संगठनात्मक संस्कारको अभावले नेतृत्व प्रतिस्पर्धालाई शक्ति संघर्षमा रूपान्तरण गरेको विश्लेषण भण्डारीको छ । 

‘ठूलो दल भइसकेपछि त्यहाँभित्र पुग्ने, नेतृत्व गर्ने, भविष्यमा पनि नेतृत्वमा रहिरहने आंकाक्षा राख्ने धेरै हुने नै भए’, उनी भन्छन्, ‘रास्वपाको सन्दर्भमा अर्को के पनि हो भने सबै आकांक्षीहरू लामो समय सांगठनिक संरचनामा बसेको भए अथवा तह-तह भन्छौँ नि हामी एक प्रकारको हाइरार्की त्यो छैन। त्यहाँ सबै एकदमै समानान्तर रूपमा उदाएका नेताहरू धेरै भएकाले गुटबन्दी हुँदै प्रतिस्पर्धा हिंसात्मकसम्म बन्न पुगेको देखिन्छ ।’

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।