काठमाण्डौ,भदौ २९ : भारत र चीनबीच करिब ६ वर्षदेखि अवरूद्ध हवाई सम्पर्क क्रमशः सामान्य बन्दै गएको छ।
चिनियाँ विमान कम्पनी चाइना साउदर्न एयरलाइन्सले आगामी सेप्टेम्बर २१ देखि ग्वाङ्झाउ–नयाँ दिल्ली नियमित उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । यो रूट करिब ६ वर्षदेखि बन्द थियो।
चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा आएका बेला यो घोषणा भएको हो । भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनका क्रममा सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता पनि भएको छ ।
ग्वाङ्झाउ–दिल्ली उडान पुनः सञ्चालनको घोषणालाई दुई देशबीच पछिल्लो समय बढ्दै गएको कूटनीतिक र आर्थिक सम्बन्ध देखाउँछ।
भारत–चीनबीच सिधा हवाई सम्पर्क पुनः स्थापना हुने प्रक्रिया अहिले भर्खर सुरू भएको भने होइन । द इण्डियन एक्सप्रेसका अनुसार सन् २०२५ अन्त्यदेखि नै विभिन्न रूटका उडान क्रमशः सञ्चालनमा आउन थालेका थिए ।
इन्डिगोले २०२५ अक्टोबरमा कोलकाता–ग्वाङ्झाउ र त्यसपछि नोभेम्बरमा दिल्ली–ग्वाङ्झाउ उडान सुरू गरेको थियो । एयर इन्डियाले २०२६ फेब्रुअरीदेखि दिल्ली–सांघाई उडान पुनः सञ्चालन गर्यो। इन्डिगोले मार्चमा कोलकाता–सांघाई सेवा सुरू गरेको थियो।
त्यसैगरी एयर चाइनाले अप्रिलदेखि बेइजिङ–दिल्ली र चाइना इस्टर्नले कुनमिङ–कोलकाता उडान पुनः सञ्चालन गरेका छन्। यससँगै पछिल्लो एक वर्षमा भारत र चीनबीचका प्रमुख सहरहरू जोड्ने सिधा हवाई सम्पर्क क्रमशः पुनः स्थापना हुँदै गएको छ।
किन रोकिएको थियो उडान?
भारत र चीनबीचको नियमित सिधा उडान सन् २०२० को सुरूआतमा कोभिड–१९ महामारीपछि रोकिएको थियो। महामारीको अवस्था सामान्य भएपछि पनि उडान तत्काल फर्किएनन्। त्यसको प्रमुख कारण दुई देशबीचको सम्बन्धमा आएको गम्भीर तनाव थियो ।
२०२० जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।
त्यसपछि दुई देशबीच हिमालय क्षेत्रमा लामो समय सैन्य तनाव रह्यो । भारतले चिनियाँ लगानीमाथि निगरानी कडा पार्नुका साथै कैयौं चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगायो । चीनतर्फ पनि पत्रकार, व्यवसायी र अन्य मानिसबीचको आवतजावत तथा आदानप्रदानमा अवरोध देखियो।
त्यसको असर हवाई सम्पर्कमा पनि परेको थियो। महामारी सकिएपछि पनि दुई देशबीच नियमित सिधा उडान पुनः स्थापना हुन सकेन।
समाचार संस्था रोयटर्सका अनुसार भारत–चीन सम्बन्धमा सुधारको प्रक्रिया सन् २०२४ बाट तीव्र हुन थालेको हो।
२०२४ अक्टोबरमा दुई देशबीच पूर्वी लद्दाखका देप्साङ र डेम्चोक क्षेत्रमा गस्ती व्यवस्थासम्बन्धी सहमति भयो। त्यसपछि सीमामा तैनाथ सैनिक फिर्ता गर्ने प्रक्रिया अघि बढ्यो।
त्यही महिनामा रूसको कजानमा मोदी र सीबीच भेटवार्ता भयो। त्यसपछि दुई देशबीच उच्चस्तरीय कूटनीतिक सम्पर्क बढ्दै गयो ।
सीमामा तनाव कम हुँदै गएसँगै हवाई सम्पर्क, भिसा प्रक्रिया, व्यापार तथा अन्य जनस्तरीय आदानप्रदान पुनः स्थापना गर्ने प्रयास पनि अघि बढे।












