मेरो पक्राउमा उत्सव मनाउनु !
✍️विशाल सी (धन्कुटा)
म जुवातास खेल्दै गर्दा पक्राउ परेँ भने, मलाई छुटाउन कोही नआउनू ।
सहानुभूतिका शब्दसमेत नबोल्नू, मेरो पक्षमा आँसु पनि नझार्नू ।
बरु रमाउनू, खुसी हुनू, सक्छौ भने खसी काटेर भोज गर्नू ।
मेरो पक्राउलाई दुःखको विषय होइन, एउटा उत्सवको अवसर सम्झिनू ।
म गलत बाटोमा हिँडेँ भने, मलाई सही बाटो देखाउनुको सट्टा मेरो गल्तीको ढाकछोप नगरिदिनू ।
नातावाद र कृपावादको खोल ओढाएर मेरो अपराधलाई चोख्याउने प्रयास पनि नगरिदिनू ।
किनकि सिद्धान्त अरूलाई सिकाउने, अनुशासन अरूबाट खोज्ने, आफूचाहिँ गल्ती गर्दा उन्मुक्ति खोज्ने त्यस्तो दोहोरो चरित्र मलाई स्वीकार्य छैन ।
म पक्राउ पर्दा खसी काटेर उत्सव मनाउनू, तर मेरो गल्तीबाट एउटा पाठ अवश्य सिक्नू—
परिवर्तनको भाषण गर्ने व्यक्तिले सबैभन्दा पहिले आफ्नै आचरण बदल्न जान्नुपर्छ !












