२०८२ वैशाख ३, बिहीबार टर्की,
टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघ (IPU) को १५२ अौँ महासभामा नेपालका राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्बोधन गरेका छन् । सम्बोधनमा विश्व अहिले धेरै संकटहरूको सामना गरिरहेको र भूराजनीतिक प्रतिस्पर्धा, विश्वव्यापी रूपमा तीव्र बन्दै गएको द्वन्द्व, जलवायु परिवर्तन, गहिरिँदो आर्थिक संकट, बढ्दो असमानता र युवा बेरोजगारी जस्ता गम्भीर समस्याहरू अनि यसबाट सिर्जित अनेकौँ चुनौतीहरूसँग जुध्न परिरहेको कुरा उल्लेख गरे । यी संकटहरू अलग-अलग नभई परस्परमा अन्तर्सम्बन्धित छन् र यी चुनौतीहरूको सामना गर्न सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित कदम चाल्नु आवश्यक भएको यस पृष्ठभूमिमा “आशाको सम्वर्धन, शान्तिको सुनिश्चितता र भावी पुस्ताका लागि न्याय” भन्ने यस महासभाको नारा अत्यन्त समय सान्दर्भिक भएको र जनताका प्रतिनिधिका रूपमा सवैले आज गर्ने निर्णयहरूले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान गर्नेछ भन्नेमा आफू विश्वस्त भएको पनि उल्लेख गरे । वाँकी महासभामा वोलेको विषय विस्तृतमा तल उल्लेख गरिएको छ ।
महामहिम अध्यक्षज्यू,
महामहिम प्रमुख ज्यूहरू
विशिष्ट प्रतिनिधिहरू
महिला तथा सज्जनवृन्द- नमस्कार ।
ऐतिहासिक शहर इस्तानबुलमा आयोजित अन्तर व्यवस्थापिका संघको १५२ औँ महासभालाई सम्बोधन गर्न पाउँदा अत्यन्त गौरवको महसुस भएको छ ।
यस भव्य सभाको सफल आयोजना तथा न्यानो आतिथ्यका लागि टर्कीको सरकार, संसद्, जनता तथा आयोजक संस्था आइपियूप्रति म लगायत हाम्रो प्रतिनिधि मण्डलको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दछु । साथै नेपालको संघीय संसदको तर्फबाट १५२ औँ महासभा भव्य सफलताको शुभकामना व्यक्त गर्दछु ।
महामहिम ज्यू
विश्व अहिले धेरै संकटहरूको सामना गरिरहेको छ । भूराजनीतिक प्रतिस्पर्धा, विश्वव्यापी रूपमा तीव्र बन्दै गएको द्वन्द्व, जलवायु परिवर्तन, गहिरिँदो आर्थिक संकट, बढ्दो असमानता र युवा बेरोजगारी जस्ता गम्भीर समस्याहरू र यसबाट सिर्जित अनेकौँ चुनौतीहरूसँग जुध्न परिरहेको छ ।
साथै, एआई लगायत अत्याधुनिक प्रविधिहरूले समाजलाई तीव्र गतिमा परिवर्तन गरिरहेका छन् भने राज्यहरूबीच र राज्यभित्र डिजिटल तथा एआई विभाजनहरू पनि हाम्रो लागि चुनौतीका रूपमा देखा परेका छन् ।
वास्तवमा, यी संकटहरू अलग-अलग नभई परस्परमा अन्तर्सम्बन्धित छन् र यी चुनौतीहरूको सामना गर्न सामूहिकता, दूरदर्शिता र समावेशितामा आधारित कदम चाल्नु आवश्यक छ ।
यस पृष्ठभूमिमा “आशाको सम्वर्धन, शान्तिको सुनिश्चितता र भावी पुस्ताका लागि न्याय” भन्ने यस महासभाको नारा अत्यन्त समय सान्दर्भिक रहेको छ । जनताका प्रतिनिधिका रूपमा हामीले आज गर्ने निर्णयहरूले भोलिका पुस्ताको भविष्य निर्धारण गर्नमा महत्वपूर्ण योगदान गर्नेछ भन्नेमा म विश्वस्त छु ।
महामहिम,
यस नारालाई वास्तविक रूपमा व्यवहारमा लागू गरी विश्वमा शान्ति र सुरक्षा, समृद्धि, मानव मर्यादा र दिगोपन सुनिश्चित गर्दै जनताको जीवनमा ठोस र सकारात्मक परिवर्तन ल्याउन हामीले गर्नुपर्ने कार्य र भूमिकाका विषयमा मेरो धारणा राख्न चाहन्छु:
पहिलो, भविष्यप्रतिको आशा र विश्वासलाई जोगाइराख्न तथा यसलाई थप सुदृढ बनाउन युवाकेन्द्रित सोच, नीति तथा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनु अपरिहार्य छ ।
नेपालमा जेन-जी आन्दोलनपछि सम्पन्न आम निर्वाचनमार्फत् प्रतिनिधि सभामा झन्डै आधा सङ्ख्यामा युवाहरूको उपस्थिति रहेको र नेपालले ३५ वर्षे युवा बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा पाएको तथ्य राख्न चाहन्छु । यसले विश्वभरका युवाहरूलाई प्रेरणा दिएको छ ।
दोस्रो, शान्ति, समृद्धि, मानव मर्यादा र दिगोपन सुनिश्चित गर्न समावेशिता एक अत्यन्त महत्वपूर्ण सर्त हो । यसका लागि हामीले संसदलगायत हरेक अंग, तह र संस्थाहरूमा समावेशिताको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।
विश्वव्यापी रूपमा लोकतन्त्रमाथि विभिन्न दबाब परिरहेको सन्दर्भमा नेपालले सन् २०१५ को संविधानमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल अभ्यास गर्दै समावेशिता, सहभागिता र जवाफदेहितामा आधारित सशक्त उदाहरण प्रस्तुत गरेको छ ।
महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा अन्य सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्दै समानुपातिक निर्वाचन प्रणालीमा दृढ प्रतिबद्धतासहित हाल सङ्घीय संसदमा ३५ प्वाइन्ट ३२ प्रतिशत महिला जनप्रतिनिधि भएको तथ्य यस सभालाई म सगर्व जानकारी गराउँछु। साथै संसदीय समितिहरुले पारदर्शिता, नीतिगत समीक्षा र सरकारलाई जवाफदेही बनाएका छन् ।
तेस्रो, विकासका अन्तर र चुनौतीहरूलाई सम्बोधन गर्नु अत्यन्त आवश्यक छ। विकास बिना शान्ति सम्भव छैन र शान्ति बिना विकास पनि सम्भव छैन भन्ने हाम्रो दृढ विश्वास यहाँ पुनः दोहोर्याउन चाहन्छु ।
चौथो, जलवायु परिवर्तनलाई सम्बोधन गर्नु अत्यन्त महत्वपूर्ण छ। जलवायु परिवर्तन आजको विश्वका लागि गम्भीर चुनौतीको रूपमा देखा परेको छ। यसबाट प्रभावित र संवेदनशील देशहरू तथा भावी पुस्ताहरूका लागि जलवायु न्याय सुनिश्चित गर्नु आजको आवश्यकता हो ।
यस सन्दर्भमा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि उच्च जोखिमको सामना गरिरहेको छ । विशेष गरी हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण हिमपातको स्वरूप परिवर्तन हुने, हिमनदी पग्लने, हिमताल फुट्ने तथा जलप्रवाह प्रणालीमा परिवर्तनजस्ता गम्भीर वातावरणीय समस्याहरू बढ्दै गएका छन् । यसले जनजिविका, जैविक विविधता र पर्यावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पारिरहेको छ ।
तथापि नेपालले सन् २०४५ सम्म नेट-शून्य उत्सर्जन हासिल गर्ने लक्ष्यप्रति प्रतिबद्ध रहँदै नवीकरणीय ऊर्जाको प्रवर्धन, जलवायु अनुकूलन कार्यक्रमहरूको कार्यान्वयन र दिगो विकासको लक्ष्य प्राप्त गर्न दृढतापूर्वक अघि बढिरहेको छ ।
संसदीय कूटनीतिमार्फत् नेपालले विभिन्न देशका संसदसँग अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण र स्रोत परिचालनका विषयमा साझा धारणा निर्माण गर्न सहयोग पुर्याएको छ ।
पाँचौँ, प्रविधि तथा डिजिटल समावेशिता र रूपान्तरणलाई जोड दिनु अत्यन्त आवश्यक छ । तीव्र रूपमा विकास भइरहेको डिजिटलीकरण र एआईले शासन प्रणाली, कृषि, स्वास्थ्य, शिक्षा लगायत सार्वजनिक सेवाहरू प्रदान गर्न र आर्थिक वृद्धि सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण भूमिका खेलिरहेको छ। तथापि, दुःखको कुरा, एआई र डिजिटल पहुँचबीचको विभाजन बढ्दै गएको छ ।
नेपालले नीतिगत अवधारणा, नवप्रवर्तन र उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै डिजिटल रूपान्तरणको माध्यमबाट राष्ट्रको विकास गर्न अग्रसर भएको छ। यसका लागि नेपालले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीहरूमा पनि सक्रिय रूपमा संलग्नता देखाइरहेको छ ।
महामहिम
आशा सकारात्मक परिवर्तनको आधारशीला हो र शान्ति केवल युद्धको अनुपस्थिति मात्र नभई जनता तथा राष्ट्रहरूबीचको आपसी समझदारी, सम्मान र सहकार्यबाट उत्पन्न हुने अवस्था हो । न्याय आशा र शान्ति दुवैलाई सुदृढ बनाउँदै समान अधिकार र अवसरहरूको सुनिश्चितता गर्ने महत्वपूर्ण र आधारभूत स्तम्भ हो । यी विषयहरू परस्पर अन्तर सम्बन्धित रूपमा उज्ज्वल भविष्यका लागि सुदृढ आधार निर्माण गर्छन् ।
आउनुहोस्, हामी आशालाई जागृत गराऔँ, शान्तिलाई सुदृढ बनाऔँ र न्यायलाई सुनिश्चित गरौँ। हामी सबैको सहकार्यमा यस्तो विश्व निर्माण गरौँ- जहाँ भविष्यका पुस्ताहरू गरिमामय सुरक्षित र समृद्ध जीवन बाँच्न सकून् ।
नेपाल बहुपक्षीय सहकार्यमा अडिग एवम् प्रतिबद्ध छ, नेपाल यस साझा यात्रामा यहाँहरूसँग काँधमा काँध मिलाएर अघि बढ्न सधैँ तत्पर छ । सबैले यस पुनित कार्यमा सहकार्यको हातेमालो गरौँ, यसैमा हामी सबैको भविष्य सुरक्षित छ। धन्यवाद ।









