जब कुनै मान्छे कता जाने र के गर्ने भन्नेमै अल्मलिन्छ, त्यहींनेरबाट शून्यता शुरु हुन्छ । नेपालका कम्युनिस्ट पार्टीहरू फागुन २१ को निर्वाचनपछि शून्यवादमा फसेका छन् । अब कहाँ जाने ? के गर्ने ? कम्युनिस्ट नेताहरूमा स्पष्टता छैन । अलमल छ । शून्यता छ । उनीहरूका अगाडि कहालीलाग्दो ‘ब्ल्याकहोल’ छ ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले आफ्ना अध्यक्षको रिहाइका लागि आन्दोलन गर्ने भनिरहेको छ । तर, अदालतले म्याद थप गरेपछि यो विषय ‘सब–जुडिस’ बनिसकेको छ । अदालतले टुङ्गो लगाउनुपर्ने विषयमा आन्दोलन गर्दा त्यसको नैतिक धरातल कमजोर हुन्छ भन्ने तथ्य विगतमा रवि लामिछानेको गिरफ्तारीकै बेला स्पष्ट भइसकेको हो । त्यसबेला रास्वपाले अदालत विरुद्ध आन्दोलन गर्न खोजेको थियो तर पछि हट्यो ।
ओलीको गिरफ्तारीको विरोध गर्नु ‘प्रतिक्रियात्मक राजनीति’ हो । आफ्ना अध्यक्षलाई समाउँदा उनको पक्षमा आवाज उठाउनु स्वाभाविकै पनि होला । तर, अब एमाले नेताहरूले फागुन २१ पछिको नयाँ परिस्थितिमा आफैंले गर्ने काम र कार्ययोजना चाहिं के हो ? एमालेको आगामी कार्यक्रम के हो ? कम्तीमा आगामी पाँच वर्षसम्म एमाले के गर्छ ? उसले आफ्ना कार्यकर्तालाई के ‘बिजनेस’ दिन्छ ? योचाहिं एमालेको अस्तित्व रक्षाका लागि महत्त्वपूर्ण र अहम् प्रश्न हो ।
प्रचण्डले नेतृत्व गरेको नेकपा पनि अहिले थिलथिलो अवस्थामा छ । माधवकुमार नेपालहरूसँगको पार्टी एकतापछि ‘माओवादी’ भन्ने नाम हटेको छ । फागुन २१ को चुनावमा खराब नतिजा आएपछि यो पार्टीमा माथिदेखि तलसम्म निराशाको बादल मडारिएको छ । पार्टी कार्यकर्ताहरू निराश मात्र होइन, बेरोजगार पनि छन् । नेताहरू किंकर्तव्यविमूढ छन् । सीपी गजुरेल, जनार्दन शर्मा, राम कार्की सुदन किराती, कुल प्रसाद केसी आदिको ‘विद्रोह’ले प्रचण्डको धर्नासो छिनेको अवस्था छ ।
ठूला भनिएका ओली र प्रचण्डकै पार्टीको त यस्तो हविगत छ भने अरू सानातिना कम्युनिस्टहरूको सङ्कटको के कुरा गर्ने । मोहन वैद्यको क्रान्तिकारी पार्टी, चित्रबहादुर केसीको जनमोर्चा, बाबुराम भट्टराई र सुदन किराती, जनार्दन शर्माहरूको प्रलोपा, नारायणमान बिजुक्छेको नेमकिपा, नेत्रविक्रम चन्द (विप्लव) को नेकपा (माओवादी) देखि लिएर अनेकन् चोइटामा विभक्त वाम समूहहरू आ–आफ्नै दुःखमा छन् ।
आपसमा कहिल्यै नमिल्ने जात
सभ्य व्यक्ति तिनलाई मानिन्छ, जसको विचार फरक भए तापनि व्यक्तिगत सम्बन्ध चाहिं सुमधुर रहन्छ। तर, नेपालका कम्युनिस्टहरूमा ठिक उल्टो नियम लागू हुन्छ । कम्युनिस्ट नेताहरूको विचार एउटै छ तर आपसमा मिल्नै सक्दैनन् । मिले भने पनि एकअर्काविरुद्ध षड्यन्त्र गर्न थालिहाल्छन् ।
कम्युनिस्टहरूमा आपसमा कहिल्यै नमिल्ने ‘जातिप्रथा’ छ । एउटाले अर्कोलाई दक्षिणपन्थी, संशोधनवादी, उग्रपन्थी, मध्यपन्थी, भारतपरस्त, जडसूत्रवादी, कठमुल्लावादी, लिनप्याओवादी आदि–इत्यादि विभिन्न जातका आरोप लगाउने पुरानै रोग छ । फरक विचारको बहानामा अलग्गै चुलो बसाएर ‘स्वयंपाक्य’ बन्नु कम्युनिस्टहरूको खानदानी प्रथा–परम्परा हो ।
सीपी मैनालीको बेग्लै चुलो छ । ऋषि कट्टेलको अर्कै चुलो छ । मोहनविक्रम र मोहन वैद्यका बेग्लाबेग्लै चुलो–चौको छन् । विप्लवसँग छुटेर धर्मेन्द्र बास्तोलाले ‘नेकपा बहुमत’ नामको अर्कै चुलो ठड्याएका छन् । घनश्याम भुसाल, राम कार्की र जनार्दन शर्माहरूको पनि एकै ठाउँमा भात–भान्सा चल्दैन । सुदन किराती अर्कै चुलोमा भात पकाउने तयारीमा छन् ।








