२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

५ वैशाख, धनगढी । पिठ्युँमा डोको र टाउकोमा दाम्लो । पसिनाले निथ्रुक्क भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ । टाउकोको दाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार गर्नुपर्ने बाध्यता छ ।

यो कुनै फिल्म वा नाटकको दृश्य होइन । बरु एक दम्पतीले बाँचिरहेको बाध्यात्मक जीवनकथा हो । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका कम्माने दमाई (५०) ले यस्तै पीडामा बाँच्नुपरेको छ ।

श्रीमती जमुना दमाई (४५) को मधुमेहले खुट्टा सुन्निएपछि उनलाई डोकोमै बोकेर सडकसम्म र त्यहाँबाट अस्पताल लैजानु कम्मानेको दैनिकी बनेको छ । दुई वर्षअघि मधुमेह रोग पहिचान भएको जमुनाको स्वास्थ्य अवस्था पछिल्लो समय निकै बिग्रिएको छ ।

सुन्निएको खुट्टा, सङ्क्रमण र घाउले जमुनालाई हिँडडुल गर्नै नसक्ने बनाएपछि उपचारका लागि श्रीमान् कम्मानेले उनलाई डोको र दाम्लोको सहारामा पिठ्युँमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो गर्नुपर्ने बाध्यता बनेको छ । मोहन्याल-३ को मुलेकाँणाबाट उनी एक्लै रोगले थला परेकी श्रीमतीलाई बोकेर फल्लेबिसौना पुग्छन् । श्रीमती बोकेर साढे दुई घण्टा हिँडेपछि मात्र उनी फल्लेबिसौना पुग्छन्, जहाँबाट मात्रै गाडी चढ्न पाइन्छ ।

खुट्टा सुन्निएपछि हिँडडुल गर्न नसक्ने अवस्था बनेका कारण श्रीमतीलाई डोको र दाम्लोको सहाराले एक्लैले बोक्नुपरेको उनी सुनाउँछन् । ‘बुढीलाई यस्तो अवस्थामा उपचार नगरी छोड्न सकिँदो रहेनछ । उपचारकै लागि डोकोमा बोकेर आफैँ फल्लेबिसौनासम्म लैजान्छु,’ कम्मानेले भने, ‘गाउँका युवा जति सबै विदेश छन् । बुढापाकालाई के दुःख दिनु भनेर एक्लै बोक्ने गरेको छु ।’

गाउँमा सहयोग लिनका लागि समेत मान्छे छैनन् । मुलेकाँणामा १५/१६ परिवार बस्छन् । अधिकांश युवा रोजगारीका लागि भारत गएका छन् । गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्, जसले बिरामी बोक्न सक्ने अवस्था छैन। स्वास्थ्य चौकी टाढा छ, स्ट्रेचर भए पनि बोक्ने मान्छेको अभाव छ ।

रोग, गरिबी र बाध्यता

मधुमेहका कारण जमुनाको बायाँ खुट्टामा सङ्क्रमण फैलिएको छ । केही समयअघि नेपालगन्जमा उपचार गरिएको थियो । भारतमा ज्याला मजदुरी गर्दै आएका छोराले उतै लगेर घाउको अप्रेसन पनि गराएका थिए । तर, उताबाट फर्किएपछि भने खुट्टाको झन् सुन्निएपछि जमुनालाई समस्या भएको छ ।

श्रीमान् कम्मानेले यतै ज्यालादारी गरेर साँझ–बिहानको छाकको जोहो गर्थे । आर्थिक अभावका कारण लामो समयसम्म चाहेर पनि श्रीमतीलाई उपचारका लागि लैजान सकेनन् । मोहन्यालकै स्थानीय सुनिता शाह र कार्यपालिका सदस्य नानी दमाईले जमुनाको उपचारका लागि सहयोग सङ्कलन गर्दै ४० हजारजति रकम उठाएका थिए ।

स्थानीय हरियाली सामुदायिक वनका अध्यक्ष धनराज गिरीसमेतको सहयोगमा रकम सङ्कलन भएपछि पहिलोपटक डोकोमा बोकेर कम्मानेले श्रीमती जमुनालाई अस्पतालसम्म पुर्‍याएका थिए । भेरी अस्पताल नेपालगन्ज लगेर उपचार गराउँदा चिकित्सकले मधुमेहकै कारण खुट्टामा समस्या आएको बताउँदै औषधि दिएका छन् ।

जमुना अहिले औषधि खाइरहेकी छन् । तर आर्थिक अभावले उपचार निरन्तर गर्न कठिनाइ भइरहेको उनको दुखेसो छ । ‘दुई वर्षदेखि राम्रोसँग हिँड्न सकेकी छैन,’ जमुनाले भनिन्, ‘पैसा नभएकैले सोंचेजस्तो उपचार गर्न सकिरहेकी छैन ।’

उनका दुई छोरा र दुई छोरी छन् । जेठो छोराको विवाह भइसकेको छ । उनी परिवारसहित भारततिर छन् । कान्छो छोरा पनि भारतमा काम गर्छन् । आर्थिक सङ्कटले थिचेपछि ६ कक्षा पढ्दै गरेकी छोरी पनि काम खोज्दै दुई महिनाअघि भारत हानिएकी छन् ।

‘चुनावमा मत बदले पनि मेरो अवस्था उस्तै’

कम्माने आफ्नै पनि स्वास्थ्य अवस्था कमजोर छ । उनी दैनिक ज्याला मजदुरी (ढुङ्गा बोक्ने, कोदालो खन्ने) जस्ता काम गरेर गुजारा चलाउँदै आएका थिए । तर श्रीमतीको उपचार खर्च धान्न गाह्रो भइरहेको छ । ‘के गर्ने हजुर, मरेर पनि मरिन्न, पालेर पनि पालिन्न,’ पीडा पोख्दै उनले भने ।

श्रीमती पिठ्युँमा बोक्दै मुलेकाँणादेखि फल्लेबिसौनासम्मको साढे दुई घण्टाको कष्टपूर्ण यात्रामा उनी दुईवटा कुरा सम्झिन्छन्, पहिलो– चुनावमा गाउँ आएका नेता र दोस्रो– आफूले फेरेको मत ।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभाको चुनावमा मत माग्न प्रायः सबैजसो राजनीतिक दलका नेता र उम्मेदवार गाउँ पुगेका थिए । उनीहरूले दमाईको परिवारलाई भेट्दै आफूलाई मत दिए श्रीमतीको उपचार गराइदिने बाचा गरेका थिए ।

तर, चुनाव सकिएपछि पनि कम्मानेको नियति पुरानै छ । चुनाव हारेको त कुरा छाडौँ, जितेका नेता पनि गाउँ नफर्किएको उनी गुनासो गर्छन् । यो चुनावमा सबैले जस्तै आफूले पनि मत फेरेको बताउने कम्माने नयाँ नेतालाई सांसद बनाएर पठाए पनि आफ्नो समस्या हल गर्न पहल नगरिदिएको सुनाउँछन् ।

‘चुनावमा भोट माग्न सबै दलका नेता आएका थिए। श्रीमतीको अवस्था देखाएको थिएँ । सबैले मत दिनुहोस् हामी समाधान गर्छौं भन्नुभयो तर फर्केर कसैले हेरेनन्,’ कम्मानेले भने, ‘पुरानाले केही गरेनन् भनेर मत फेरेर नयाँलाई दिएको थिएँ । तर सबै उस्तै रहेछन्।’ यो क्षेत्रबाट रास्वपाका केपी खनालले प्रतिनिधिसभाको चुनाव जितेका छन् ।

आर्थिक अभाव र भौगोलिक विकटतालगायतका विभिन्न कठिनाइबीच पनि कम्मानेको एउटै चाहना छ, श्रीमतीलाई जसरी पनि राम्रो उपचार गराएर निको बनाउने ।

आवश्यक परेमा फेरि पनि भारत वा नेपालमै राम्रो अस्पतालमा लैजाने तयारीमा उनी छन्। त्यसका लागि भारतमा रहेका छोराछोरीसँग सरसल्लाह गरिरहेको उनी बताउँछन् ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।