काठमाण्डौ,कार्तिक १० : भारतको आसामस्थित गुवाहाटीको एक होटलमा सञ्चालक र भाडा (लीज) मा लिने व्यक्तिबीच विवाद हुँदा ५ जनाको मृत्यु भएको छ।
सोमबार राति जीएस रोडस्थित बोरा सर्भिस अगाडि रहेको ‘होटल बिलास इन’ मा करिब ९ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ। यो स्थान आसाम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा पर्दछ।
गुवाहाटीका पुलिस कमिश्नर पार्थ सारथी महन्तका अनुसार गोली चल्दा ६ जना घाईते भएका थिए । घाईतेमध्ये ५ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
प्रहरीले घटना लगत्तै एक जनालाई नियन्त्रणमा लिएको छ। हत्याकाण्डमा ३२ बोरको लाइसेन्सप्राप्त पेस्तोल प्रयोग भएको र उक्त हतियारसमेत बरामद भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।












