काठमाण्डौ, कार्तिक ८ : साउदी अरबको राजधानी रियाद र दक्षिणी क्षेत्रमा आइतबार फेरि क्षेप्यास्त्र तथा ड्रोन प्रहार भएका छन्। साउदी नेतृत्वको सैन्य गठबन्धनले ती आक्रमण रोकेको जनाएको छ।
आक्रमणको जोखिम कायम रहेकै बेला रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका दुई टर्मिनलबाट उडान पुनः सञ्चालन गरिएको छ।
यमनको हुथी समूहले भने विमानस्थल फेरि आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएको छ।
साउदी अरब नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो। यसै साता त्यहाँको तेल क्षेत्रमा ड्रोन रोक्ने क्रममा खसेका टुक्राले लागेर एक नेपालीको मृत्यु भएको थियो । दमाम विमानस्थलमा भएको अर्को आक्रमणमा पनि एक नेपाली घाइते भएका थिए।
यी घटनापछि आइतबारको आक्रमणले त्यहाँ कार्यरत नेपालीको सुरक्षालाई थप चासोको विषय बनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबार साउदीको नागरिक सुरक्षा निकायले रियाद, आभा र खामिस मुसाइतका बासिन्दालाई आपतकालीन सतर्कता सूचना पठाएको थियो। केही मिनेटपछि तत्कालको खतरा टरेको सूचना दिइएको थियो।
साउदी नेतृत्वको गठबन्धनले रियादतर्फ आएका दुई ड्रोन र एउटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ। दक्षिणी सहर खामिस मुसाइततर्फ आएको एउटा क्रुज क्षेप्यास्त्र पनि रोकिएको उसको भनाइ छ।












