२०८३ कार्तिक ११ मंगलवार
Search
२०८३ कार्तिक ११ मंगलवार

न्युजिल्यान्डको निर्वाचनमा नेपाली युवा पनि…

 

काठमाण्डौ, कार्तिक १० : न्युजिल्यान्डको आमनिर्वाचनमा नेपाली मूलका दुई युवाले उम्मेदवारी दिएका छन्। अपरच्युनिटी पार्टीका तर्फबाट नेत्र घिमिरेले पाल्मस्र्टन नर्थ निर्वाचन क्षेत्र र ग्रिन पार्टीका तर्फबाट श्रीजन पाण्डेले क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेका छन्। फरक राजनीतिक पृष्ठभूमि र व्यावसायिक अनुभव भएका दुवै उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै मतदातासँग भेटघाट गरिरहेका छन्।

दुवैले आफू आबद्ध राजनीतिक दलका नीति र आफ्ना प्राथमिकताबारे मतदातालाई जानकारी दिँदै समर्थनका लागि अपिल गरेका छन्। घिमिरेले शिक्षण पेसाबाट प्राप्त अनुभवका आधारमा युवाको भविष्य, शिक्षा, सीप विकास र जीवनयापनको बढ्दो खर्चलाई प्राथमिकतामा राखेका छन्। इलेक्ट्रिकल इन्जिनियर पाण्डेले भने स्वच्छ ऊर्जा, वातावरण संरक्षण, किफायती जीवनयापन र हरित प्रविधिमा लगानी बढाउने विषयलाई आफ्नो चुनावी एजेन्डामा समेटेका छन्।

पाल्मस्र्टन नर्थबाट उम्मेदवारी दिएका घिमिरेको बाल्यकाल नेपालस्थित शरणार्थी शिविरमा बितेको थियो। उनी ११ वर्षको उमेरसम्म त्यहीँ हुर्किएका थिए। त्यसपछि न्युजिल्यान्ड आएर नयाँ जीवन सुरु गरेका घिमिरेले आफूलाई अवसर प्रदान गरेको समाजमा योगदान गर्ने चाहना आफ्नो राजनीतिक यात्राको प्रमुख प्रेरणामध्ये एक भएको बताए।

घिमिरे माध्यमिक तहमा सामाजिक अध्ययन, शारीरिक शिक्षा र वित्तीय साक्षरता विषयमा पढाउँछन्। शिक्षण पेसाका क्रममा युवासँग नजिक भएर काम गर्दा उनीहरूले सामना गरिरहेका चुनौती, भविष्यप्रतिको अन्योल र व्यावहारिक सीपको आवश्यकतालाई बुझ्ने अवसर पाएको उनले बताए।

‘युवाले सामना गरिरहेका समस्यालाई नीतिनिर्माणमार्फत सम्बोधन गर्न सकियोस् भन्ने उद्देश्यले म संसद्को उम्मेदवार बनेको हुँ,’ घिमिरेले भने, ‘युवालाई परम्परागत शैक्षिक योग्यतामा मात्र सीमित नराखी प्राविधिक शिक्षा, उद्यमशीलता, प्रविधि र व्यावहारिक सीपका क्षेत्रमा पनि अवसर उपलब्ध गराउनुपर्नेमा मेरो जोड रहने छ।’ उनका अनुसार बढ्दो जीवनयापन खर्च, आवासको समस्या र परिवारमाथिको आर्थिक दबाब अहिलेका 
प्रमुख चुनौती हुन्।

यता, क्राइस्ट चर्चको विग्राम निर्वाचन क्षेत्रबाट ग्रिन पार्टीका उम्मेदवार बनेका श्रीजन पाण्डेले वातावरण संरक्षण, स्वच्छ ऊर्जा र आर्थिक अवसर सिर्जनालाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएका छन्। इलेक्ट्रिकल इन्जिनियर पाण्डेले पाल्मस्र्टन नर्थ ब्वाइज हाइस्कुल र क्यान्टरबरी विश्वविद्यालयमा अध्ययन गरेका हुन्। करिब दुई दशकदेखि जलवायु परिवर्तन र ऊर्जा समाधानका क्षेत्रमा काम गर्दै आएका उनले वायु ऊर्जा केन्द्रको डिजाइनदेखि अन्तर्राष्ट्रिय स्तरका स्वच्छ ऊर्जा पहलमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेसम्मको अनुभव हासिल गरेका छन्।

निर्वाचनमा होमिएका घिमिरे र पाण्डे फरक राजनीतिक दलबाट प्रतिस्पर्धा गरिरहेका छन् र उनका चुनावी प्राथमिकता पनि समान छैनन्। मतदाताले उम्मेदवारका व्यक्तिगत प्रतिबद्धता, सम्बन्धित दलको नीति तथा आफ्नो निर्वाचन क्षेत्रका आवश्यकताका आधारमा निर्णय गर्नेछन्।

न्युजिल्यान्डमा नेपाली समुदायको राजनीतिक सहभागिताको विषयलाई महत्व दिँदै न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज श्रेष्ठले नेपाली मूलका व्यक्तिहरूले आर्थिक तथा सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानलाई नीतिनिर्माणको तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेपालीहरू आमनिर्वाचनमा केन्द्रीय पार्टीबाट उम्मेदवार बन्ने नेपालीहरूका लागि खुसीको कुरा रहेको बताए। उनले भने, ‘नेपाली समुदायका सरोकारलाई स्थानीय तथा राष्ट्रिय राजनीतिक प्रक्रियामा प्रभावकारी रूपमा प्रस्तुत गर्न नेपालीहरू राजनीतिमा अघि बढ्नुपर्ने देखिएको छ।’

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।