भालुबाङ्ग, कार्तिक ११ : लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ ।जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुखसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । आफुलाई जालसाजीको मुद्दा दायर भएको बारे बुझन लाई सभामुख तुलाराम घर्ती मगरलाई सम्पर्क गरेको हुन सम्पर्क सकेन ।
काफ्लेले मंगलबार दायर गरेको फिरादपत्रमा सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगर, प्रदेशसभा सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन् ।
काफ्लेले पार्टीको आधिकारिक निर्णय र अख्तियारीबिना लेटरहेड, छाप तथा पदाधिकारीको नाम प्रयोग गरी पत्र तयार पारिएको र त्यसकै आधारमा आफूलाई पदमुक्त गरिएको दाबी गरेकी छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा संसदीय दलको निर्देशन उल्लंघन गरेको आरोपमा काफ्लेमाथि कारबाही प्रक्रिया अघि बढाइएको थियो । सोही क्रममा प्रदेशसभा सचिवालयले भदौ २४ गते उनको पद रिक्त भएको सूचना जारी गरेको थियो ।
तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी काफ्लेको पक्षमा अदालतले २०८३ असोज ६ गते निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । काफ्लेले विवादित पत्रको आधिकारिकता छानबिन गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न र उक्त लिखत अमान्य घोषित गर्न माग गरेकी छन् ।आफुलाई जालसाजीको मुद्दा दायर भएको बारे बुझन लाई सम्पर्क गरेको हुन सम्पर्क सकेन ।












