काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले सर्वोच्च अदालतको फैसला मान्दै एकताका लागि बृहत् परामर्श गर्ने निर्णय लिएको छ ।
नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले बताए ।
”फैसलाबारे असहमति छ । तर संवैधानिक निकायको फैसलालाई हामी स्वीकार गर्छौँ । एकताका लागि सबै पक्षसँग परामर्श आवश्यक छ । सबैसँग बृहत् परामर्श गर्ने भन्ने निष्कर्ष बैठकको छ,” उनले भने । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता विवाद तीन महिनापछि वैशाख चारमा टुंग्याएको थियो । सर्वोच्चले निर्वाचन आयोगको निर्णय कानुनी आधारमा रहेकोसहित अन्य तीन कारण देखाउँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । त्यसपछि देउवा पक्षको बैठक वैशाख ५ मा बसेको हो ।

सर्वोच्चको संक्षिप्त आदेशमा देउवा पक्षले कारबाहीको विषयमा निर्वाचन आयोगलाई गराएको जानकारी र विशेष महाधिवेशनबारे दिएको उजुरी पत्रलाई राजनीतिक दलको ऐन दफा ४३ र ४४ अन्तर्गतको उजुरी मान्न नमिल्ने भएकाले कारबाही सदर हुन नसक्ने उल्लेख छ । यस्तै, केन्द्रीय पदाधिकारीको हेरफर अद्यावधिक भएपछि गगन थापाको हस्ताक्षरबाट फागुन २१ को संघीय संसद्को निर्वाचन सम्पन्न भएको र त्यसले राजनीतिक वैधता प्राप्त गरेको सर्वोच्चको संक्षिप्त आदेशमा उल्लेख छ । सर्वोच्चले निर्वाचन आयोगको निर्णय कानुनी आधारमै भएकाले निवेदनको भरमा हस्तक्षेप गर्न नमिल्ने पनि भनेको थियो । सर्वोच्चको फैसलापछि आगामी बाटो तयका लागि देउवा पक्ष छलफलमा जुटेको हो । उनीहरूले सांगठनिक र भावनात्मक एकताबारे छलफल अघि बढाउने निष्कर्ष निकालेका हुन् । एकताको सम्पूर्ण जिम्मेवारी अब कांग्रेस सभापति गगन थापाको काँधमा आएको नेता विश्वकर्माले बताए । ”पार्टीभित्र सांगठनिक र भावनात्मक एकता कायम गर्नुपर्ने दायित्व अब सभापति थापाकै जिम्मेवारीमा आएको छ,” उनले भने ।







