काठमाण्डौ, कार्तिक १४ : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन् ।
पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन् । तर खेलमा वर्षा बाधक बन्ने सम्भावना छ। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो । यता चितवनले विराटनगर किङ्सलाई आठ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
दुवै टोली पहिलो खेलको लयलाई निरन्तरता दिने लक्ष्यमा रहे पनि शनिबारको मौसमले खेलको नतिजामा प्रभाव पार्न सक्छ। वर्षाका कारण खेल प्रभावित भए दुवै टोलीको लगातार दोस्रो जितको लक्ष्य पूरा नहुन सक्छ। दुवै टोलीले १-१ अंक बाँड्ने छन्।
अर्नब चक्रवातको असरले नेपालमा बिहीबार रातिदेखि नै वर्षा भइरहेको छ । शुक्रबार दिनभर वर्षा भएको थियो भने शनिबार पनि साँझसम्मै हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।












