काठमाण्डौ, कार्तिक १४ : बंगालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्नव’ चक्रवात र पश्चिमी वायुको संयुक्त प्रभावका कारण नेपालको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। यो मौसमी प्रणालीका कारण देशैभरिको तापक्रममा तीव्र गिरावट आई चिसो अत्यधिक बढेको छ।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २९ भन्दा बढी जिल्लाहरूलाई उच्च सतर्कतामा राख्दै विशेष मौसमी बुलेटिन जारी गरेका छन्। पूर्वी हिमालदेखि सुदूरपश्चिमका उच्च भूभागसम्म हिउँको बाक्लो च्यादर जमेको छ भने काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा दिउँसै अँध्यारो भई चिसो सिरेटो चलेको छ, जसले गर्दा जनजीवन नराम्ररी प्रभावित बनेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार रातिदेखि नै सुरु भएको यो अनपेक्षित मौसमी फेरबदलका कारण सोलुखुम्बुको खुम्बु क्षेत्र, दिङ्बोचे, गोक्यो उपत्यका तथा मनास्लु र लाङटाङका माथिल्ला भागहरूमा तीव्र हिमपात भइरहेको छ। पश्चिम नेपालको मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जुम्लाको पन्चसैया पाटन तथा जाजरकोटका उच्च पहाडी भूभागमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ। यस वर्षकै यो ठूलो हिमपातका कारण उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दाको जनजीवन तथा पर्यटन क्षेत्र प्रभावित भएको छ।
मौसममा आएको तीव्र बदलावसँगै सगरमाथा आधार शिविर, कालापत्थर, गोक्योलगायतका माथिल्लो उचाइका क्षेत्रहरूमा हिउँ पर्ने क्रम अझै रोकिएको छैन। हिमपातका कारण खुम्बु क्षेत्रको पदमार्ग र हिमालतर्फ जाने बाटोहरू हिउँले पुरिएपछि पर्यटकीय गतिविधि प्रभावित बनेका छन्।
सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन राजा बुढाथोकीका अनुसार सगरमाथा क्षेत्रमा रहेका सबै पर्यटकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरिएको छ।
मनाङ र मुस्ताङका जिल्ला प्रशासन कार्यालयहरूले पाँच हजार मिटरभन्दा माथिका खतरनाक हिमाली मार्गहरू,विशेषगरी थोरङ ला पास, तिलिचो ताल, काङला पास र सारिबुङ पासजस्ता क्षेत्रमा पदयात्रा गर्न आगामी तीन दिनका लागि प्रतिबन्ध लगाएका छन्।
ठाउँठाउँमा सानातिना हिमपहिरो (एभलान्च) जान थालेको र हुरी चलेकाले पर्यटकहरूलाई जहाँ छ, त्यहीँ सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ। हिउँका कारण सुदूरपश्चिम र कर्णालीका हिमाली जिल्लाका आन्तरिक सडकहरू अवरुद्ध भएका छन् भने हुम्लाको सिमकोटलगायतका क्षेत्रमा हवाई उडानहरू पूर्ण रूपमा स्थगित गरिएका छन्।












