काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय उठाएका छन् । चीनका विदेशमन्त्री वाङ यीसँग भएको दुई पक्षीय भेटवार्तामा मन्त्री खनालले लिपुलेकबारे भारत र चीनबिच भएको सम्झौताको बारेमा चासो राखेका थिए । चिनियाँ समकक्षी यीसँग मन्त्री खनालले ती भूभाग नेपालको रहेको स्मरण गराउँदै कैलाश मानसरोवर यात्रा तथा व्यापारका लागि लिपुलेकको बाटो प्रयोग गर्ने विषयमा चीन र भारतबिच भएको सम्झौताबारे चासो राखेका थिए । उनले लिपुलेकको बारेमा भारत र चीन दुवै देशलाई कूटनीतिक नोट पठाएकोबारे स्मरणसमेत गराएका थिए । तर मन्त्री खनालले भारत भ्रमणको क्रममा लिपुलेकको विषय भने उठाएका थिएनन् । भारत भ्रमणका क्रममा उनले भारतका विदेशमन्त्री एस. जयशंकरसँग दुई पक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तापछि दुवै पक्षले विज्ञप्ति जारी गरे पनि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे उल्लेख गरिएको थिएन ।












