भालुबाङ्ग । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेपछि त्यसप्रति विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएको छ । सोमबार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सभामा प्रस्तुत गरेको बजेटलाई प्रमुख प्रतिपक्षी दलले परम्परागत र नयाँ गति दिन नसक्ने खालको भन्दै आलोचना गरेका छन् भने केही सरोकारवालाले कार्यान्वयनमा जोड दिएका छन् ।
चेम्बर अफ कमर्स लुम्बिनीले पनि बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ। ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियानलाई निरन्तरता दिने गरी ल्याइएको बजेटले केही सकारात्मक सङ्केत दिएको भए पनि अपेक्षित नयाँपन र उत्साह जगाउन नसकेको चेम्बरको निष्कर्ष छ ।
चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले पूर्वाधार, सामाजिक विकास, कृषि, स्वास्थ्य तथा डिजिटल लुम्बिनी जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको भए पनि अधिकांश कार्यक्रम विगतका योजनाकै निरन्तरतामा सीमित देखिएको बताए । उनका अनुसार बजेटमा रूपान्तरणकारी दृष्टिकोणभन्दा पुरानै योजनालाई निरन्तरता दिने प्रवृत्ति दोहोरिएको छ ।
पोखरेलले उद्योग, लगानी प्रवर्द्धन र समावेशी आर्थिक विकासका विषय समेटिए पनि निजी क्षेत्रलाई आकर्षित गर्ने ठोस कार्यक्रम तथा स्पष्ट कार्यान्वयन योजना नदेखिएको बताए । उद्यम विकास कोष, स्टार्टअप कार्यक्रम तथा उद्योगलाई दिइने सहुलियत सकारात्मक भए पनि तिनको कार्यान्वयन पक्ष अझै स्पष्ट हुन नसकेको उनको भनाइ छ । यसैबिच, लुम्बिनी प्रदेश सरकारले पहिलोपटक बालविवाह न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटमार्फत स्थानीय तहमा बालविवाहविरुद्धका कार्यक्रम सञ्चालन गर्न रकम छुट्याइएको हो ।
यस कार्यक्रमअन्तर्गत प्रदेशका १२ जिल्लाका १०९ स्थानीय तहमा बालविवाह न्यूनीकरण, बाल संरक्षण, शिक्षा तथा पुनःस्थापनासम्बन्धी अभियान सञ्चालन गरिनेछ । सरकारले प्रत्येक पालिकालाई १० लाख रुपैयाँका दरले कुल १० करोड ९० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
‘नेपालमा बालबालिकाका लागि अधिकार’ (जेआरसिएन) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर चौधरीले विज्ञप्तिमार्फत प्रदेश सरकारको यो कदमले बालविवाहविरुद्ध काम गर्दै आएका सामाजिक सङ्घसंस्थालाई थप उत्साह मिलेको बताएका छन् ।
उनले यसलाई बालअधिकार संरक्षणतर्फको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता रामजी घिमिरेले सरकारले व्यापक तयारी र मेहनतका साथ बजेट ल्याएको बताउँदै यसको कार्यान्वयनबारे कुनै शङ्का नगर्न आग्रह गरेका छन् । उनले बजेटका लागि आवश्यक स्रोत सुनिश्चित भइसकेको दाबी गर्दै प्रतिपक्ष र सरोकारवालालाई ढुक्क हुन आग्रह गरे ।









