काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा समेत नेपाली उपभोक्ताले अझै पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य उच्चतम बिन्दु प्रतिब्यारेल $११७.६३ बाट घटेर प्रतिब्यारेल $६९.२१ मा ओर्लिँदा करिब ३० प्रतिशतको गिरावट आइसकेको भन्दै उनले यसको प्रत्यक्ष लाभ र राहतबाट आम नेपाली नागरिक बञ्चित हुनु दुःखद भएको बताए । ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ?’ पौडेलले प्रश्न गरे।
मूल्य किन घटेन भन्ने जनगुनासो बढ्न थालेपछि नेपाल आयल निगमले ‘हामीले कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’भन्ने जस्ता बहाना देखाउने गरेको प्रति महामन्त्री पौडेलले कडा आलोचना गरे ।
निगमले नियमित १५/१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गर्ने दाबी गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको पौडेलको गुनासो छ।
निगमको दोहोरो मापदण्डमाथि प्रहार गर्दै उनले भने,’अन्तर्राष्ट्रिय बजारमा भाउ बढ्ने बेलामा नेपालमा तुरुन्तै लागू गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा भाउ घट्ने बेलामा चाहिँ विभिन्न बहाना बनाएर प्रणाली लागू गर्न आलटाल गरिन्छ। घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?’ उनले आक्रोश व्यक्त गरे।
लामो समयसम्म अन्तर्राष्ट्रिय बजारको गिरावट अनुसार नेपाली बजारमा मूल्य समायोजन नगरिनुले नेपाल सरकार र नेपाल आयल निगमभित्रको सुशासनको अभावलाई छर्लङ्ग पारेको पौडेलको दाबी छ । उनले यस कदमलाई निगमको चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीको रूपमा चित्रण गरेका छन् । अन्तर्राष्ट्रिय बजारको वास्तविक लाभ आम नागरिकसम्म तत्काल पुर्याउन र बजारमा पारदर्शिता कायम गर्न निगमले आफ्नो कार्यशैली सुधार्नुपर्नेमा जोड दिइएको छ।









