काठमाडौँ : आठ वर्षअघि नेपालको कम्युनिष्ट आन्दोलन इतिहासकै सबैभन्दा शक्तिशाली उचाइमा थियो ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच भएको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संघीय संसद्मा झन्डै दुईतिहाइ बहुमत मात्रै पाएन, प्रदेशदेखि स्थानीय तहसम्म एकछत्र प्रभाव कायम गरेको थियो ।
दक्षिण एशियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका रूपमा समेत त्यसबेला नेकपाको चर्चा भएको थियो तर त्यही आन्दोलन केही वर्षमै विभाजन, अन्तरसंघर्ष र नेतृत्वबीचको अविश्वासका कारण कमजोर बन्दै गयो । खासगरी गत २१ फागुन २०८२ काे पछिल्लाे निर्वाचनले कम्युनिष्ट शक्तिहरूको कमजोर अवस्थालाई उजागर गरिदियाे ।
यही पृष्ठभूमिमा आइतबार प्रमुख वामपन्थी दलका शीर्ष नेताहरू राष्ट्रिय सभागृहकाे एउटै मञ्चमा उभिएर साझा सन्देश दिएका छन्– कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्नुपर्छ। मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा एउटै मञ्चमा उभिएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सहसंयाेजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल र पूर्वराष्ट्रपति विद्या भण्डारीले आ-आफ्नो शैलीमा एउटा उक्त साझा सन्देश दिएका हुन् । यद्यपि सबै नेताको भाषा, प्राथमिकता र शर्त फरक–फरक थिए। कसैले तत्काल कार्यगत एकताको प्रस्ताव गरे भने कसैले आत्मसमीक्षाबिना गरिएको एकता फेरि असफल हुनेतर्फ सचेत गराए ।
एमाले अध्यक्ष ओलीले भने आफ्नो पार्टीको नीति सही रहेको दाबी गर्दै विचारगत सम्झौताको शर्त अस्वीकार गरे पनि वर्तमान राजनीतिक परिस्थितिविरुद्ध सहकार्य गर्न सकिने संकेत दिए ।
उनले भने, ‘प्रतिगमनलाई पराजित गर्ने अहिलेको प्रमुख कार्य हो । सबै वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर अहिलेको प्रतिगमनलाई पराजित गर्नुपर्छ ।’
नेकपा संयाेजक प्रचण्डले अहिलेको राजनीतिक अवस्थालाई ‘कम्युनिष्ट आन्दोलनमाथिको योजनाबद्ध प्रहार’का रूपमा व्याख्या गरे । उनका अनुसार देशमा राष्ट्रिय स्वाधीनता र संविधानमाथि चुनौती बढिरहेको छ र त्यसको मुख्य निशाना कम्युनिष्ट आन्दोलन बनेको छ । त्यसैले वामपन्थी र देशभक्त शक्तिहरूले अब ढिलो नगरी सहकार्य शुरु गर्नुपर्ने उनको जोड थियो ।
‘अहिले राष्ट्रिय स्वाधीनता संकटमा परेको अनभूति भइरहेको छ । सरकार पनि उत्पीडित जाति समुदायमाथि र संविधानका मूल्य मान्यतामाथि प्रहार गर्न उद्यत हुँदै गएको देखिएको छ। नेपालमा कम्युनिष्ट आन्दोलनलाई कसरी सिध्याउन सकिन्छ भनेर दुनियाँभरका प्रतिक्रियावादी लागिरहेका छन्। त्यही षड्यन्त्रको परणीतिका रूपमा चुनावदेखि अहिलेसम्म भयो’, उनले भने, ‘त्यसकारण यो परिस्थितिमा छिटोभन्दा छिटो वामन्थी र देशभक्त एक हुनुपर्छ । ढिला गर्दा गल्ती हुन्छ।’
प्रचण्डले २०७४ सालको एमाले–माओवादी एकतालाई जनताले अनुमोदन गरेको भन्दै त्यो अनुभवलाई पुनः स्मरण गरे तर यो पटक उनले एउटा महत्त्वपूर्ण कुरा पनि स्वीकारे— आत्मालोचना तथा आत्मसमीक्षाबिना गरिएको एकता टिकाउ हुँदैन । उनका शब्दमा ‘हतारमा एकता र फुर्सदमा विभाजन’ दोहोरिन नदिन विगतका कमजोरीको समीक्षा अपरिहार्य छ।
‘निरन्तरजसाे कम्युनिष्ट एकताकाे वकालत गर्नेमध्येका एक हुन् नेकपाका वरिष्ठ नेता झलनाथ खनाल। आइतबारकाे गाेष्ठीमार्फत अझ उनले स्पष्ट धारणा राखे ।
उनले अहिलेको विश्व र राष्ट्रिय राजनीतिक परिस्थितिलाई साम्राज्यवाद र प्रतिक्रियावादको चुनौतीका रूपमा चित्रण गर्दै त्यसको सामना गर्न वामपन्थी एकता अपरिहार्य भएको बताए। उनले पछिल्लो निर्वाचन परिणामलाई स्मरण गर्दै एमाले र नेकपाबीच कार्यगत एकता मात्रै भएको भए पनि परिणाम फरक आउने दाबी गरे । ‘कमसेकम आज विचार गोष्ठीमा एकताबद्ध भयौँ। सबैलाई आग्रह गर्छु, अब यही दिनबाट वापमन्थी एकतालाई अघि बढाउने कामको थालनी गरौँ। आज साम्राज्यवादी र प्रतिक्रियावादीहरूले बबण्डर मचाइरहेका छन्, त्यसविरुद्धको लडाइँ जित्नका लागि आजको आवश्यकता वापमन्थी एकता हो’, उनले भने, ‘भर्खरै भएको चुनावमा नेपालका वामपन्थी आन्दोलनले सर्मनाक हार बेहोर्यो तर यही दुईपार्टी ( एमाले र नेकपा) बीच कार्यगत एकता मात्रै गरेको भए, यस्तो परिणाम आउँदैनथ्यो। करिब एक सय सिट वामपन्थीको हुन्थ्यो। बालेनको तानाशाही चल्ने थिएन। परिस्थिति अर्को हुन्थ्यो।’
खनालले विगतमा ‘कहिले सिङ पलायो, कहिले जुरो पलायो’ भन्ने व्यंग्यात्मक अभिव्यक्तिमार्फत नेतृत्वबीचको अहंकार र व्यक्तिगत टकरावले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको स्विकारे। अब समाजवादी रूपान्तरणको नयाँ कार्यदिशासहित कम्युनिष्ट आन्दोलन पुनः एकताबद्ध हुनुपर्ने समय आएको उनले बताए।
नेकपाका सहसंयाेजक माधवकुमार नेपालको धारणा भने आत्मसमीक्षामा केन्द्रित रह्यो। उनले दुई तिहाइको शक्तिशाली पार्टी केही वर्षमै किन कमजोर भयो भन्ने प्रश्नको गम्भीर समीक्षा नगरी केवल भावनात्मक एकताको कुरा गर्नु पर्याप्त नहुने बताए। विचार, विधि, संगठन, नेतृत्वशैली र व्यक्तिवादलगायतका कमजोरीको समीक्षा गरेर मात्रै दिगो एकता सम्भव हुने उनको तर्क थियो।
‘त्यो उचाइ (२०७४ मा दुई तिहाइ नजिककाे बहुमत)मा पुगेको कम्युनिष्ट पार्टी किन कमजोर भयाे, यसकारणबारे आत्मसमीक्षा गरौँ।विचार, सिद्धान्त वा व्यक्तिवादी प्रवृतिले वा के कारण हो ? या हामीमा के के विकृति र भड्काउ आए ? आत्मसमीक्षा गरौँ। सबै कम्युनिष्ट घटकहरूले आत्मकसमीक्षा र मन्थन गर्नुपर्छ’, उनले भने, ‘त्यसबाट आउने सही निष्कर्षका आधारमा कम्युनिष्ट आन्दोलनई एक ठाउँमा ल्याउन सक्छौँ। नभए भावनाको कुरा गरेर मात्र हुँदैन।’
नेपालले विगतमा एकता भएर पनि छिट्टै विभाजन भएको अनुभव दोहोरिन नदिन वैचारिक स्पष्टता र संगठनात्मक संस्कृतिमा परिवर्तन आवश्यक रहेको बताए। उनले मिल्ने कुरा ठूलो नभई मिलेर टिक्ने वातावरण निर्माण गर्नु अहिलेको चुनौती रहेकाे औंल्याए।
ओलीमा सुनिएकाे फरकपन
कार्यगत एकतामा जाेड दिए पनि एमाले अध्यक्ष ओलीको अभिव्यक्ति अन्य नेताभन्दा फरक सुनियो। उनले वर्तमान चुनौतीलाई समाजवाद निर्माणभन्दा पनि ‘प्रतिगमन पराजित गर्ने’ कार्यका रूपमा व्याख्या गरे। सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरू संविधानविरोधी र देशविरोधी गतिविधिविरुद्ध सहकार्य गर्नुपर्ने उनको प्रस्ताव थियो।
तर ओलीले एमालेका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक नीतिहरू सही रहेको दाबी गर्दै ती नीतिहरू गलत छन् भनेर एकता वा एकीकरणका लागि छलफल गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे। यसले तत्काल पार्टी एकीकरणभन्दा पनि सीमित राजनीतिक सहकार्यका लागि एमाले खुला रहेको सन्देश दिएको देखिन्छ।
‘हामी (आफू नेतृत्वको हिजोको सरकार) ले असाधारण काम गरेका हौँ। एमालेका नीतिहरू सही छन्। गलत छन् भनेर एकता वा एकीकरणका लागि छलफल गर्ने पक्षमा हामी छैनौँ’, उनले भने, ‘हाम्रा नीतिहरू सही छन्। राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर अझ समयअनुकूल बनाउँदै समाजवाद के हो भन्ने कुरा सर्वधारणले बुझ्ने गरी समृद्धि नेपाल सुखी नेपाली समाजवाद हो। हाम्रो गन्तव्य त्यही हो।’
ओलीले पछिल्ला राजनीतिक घटनाक्रमलाई ‘प्रतिगामी षड्यन्त्र’को परिणामका रूपमा व्याख्या गर्दै त्यसलाई संस्थागत हुन नदिन सबै वाम शक्तिहरू मिल्नुपर्ने बताए। यद्यपि उनले विगतका मतभेदबारे कुनै आत्मालोचना गरेनन्।
विद्या भण्डारीले के भनिन् ?
कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्या भण्डारीले भने अन्य नेताभन्दा फरक शैलीमा आफ्नो धारणा राखिन्। उनले पछिल्लो निर्वाचन परिणामलाई गम्भीर रूपमा लिनुपर्ने भए पनि त्यसकै आधारमा कम्युनिष्ट आन्दोलनको समग्र मूल्यांकन गर्न नहुने बताइन्। उनले राजनीतिक आन्दोलनको मूल्यांकन ऐतिहासिक योगदान, वैचारिक क्षमता र समाज रूपान्तरणमा खेलेको भूमिकाबाट हुने धारणा राखिन्।
‘हालै सम्पन्न निर्वाचनले दिएको सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न जरुरी छ तर यसकै आधारमा कम्युनिष्ट अन्दोलनबारे निष्कर्ष निकाल्न उचित हुँदैन। राजनीतिक आन्दोलनको मूल्यांकन ऐतिहासिक विकासक्रम, वैचारिक क्षमता र समाज रूपान्तरणमा पुर्याएको योगदानका आधारमा हुन्छ। एउटा निर्वाचनको परिणामको आधारमा होइन’, उनले भनिन्, ‘तथापि जनताले व्यक्त गरेका अपेक्षा र सन्देशलाई रचनात्मक रूपमा आत्मसात गर्नु आजको आवश्यकता हो।’
भण्डारीले बदलिँदो पुस्ता, डिजिटल प्रविधि, रोजगारी, सुशासन, उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायजस्ता नयाँ एजेन्डामा कम्युनिष्ट आन्दोलनले समयानुकूल आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याइन्। विगतका उपलब्धिको स्मरण मात्रै पर्याप्त नभई वर्तमानका चुनौतीको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक र राजनीतिक सिर्जनशीलता आवश्यक रहेको उनको भनाइ थियो।









