२०८३ असार २७ शनिबार
Search
२०८३ असार २७ शनिबार

 

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान मस्यौदा सार्वजनिक गरेकै दिन पार्टीका सांसदहरूले आफ्नै नेतृत्वको सरकारमाथि संसद र सामाजिक सञ्जालमार्फत चर्को आलोचना गरेपछि पार्टीभित्रको आन्तरिक संघर्षबारे नयाँ चर्चा सुरु भएको छ । यद्यपि पार्टीका एक नेताले भने सांसदहरूको अभिव्यक्तिलाई विधान विवादसँग जोडेर हेर्न नहुने बताएका छन् ।

रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले सोमबार फेसबुकमार्फत सुकुम्बासी व्यवस्थापनमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाइन् ।उनले सरकार पार्टीको वाचापत्रअनुसार अघि बढ्न नसकेको प्रश्न उठाउँदै लेखेकी छन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ ।

सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो । तर, के यो हाम्रो वाचापत्रअनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो ।’

आजै रास्वपा सांसद ज्वाल संग्रौलाले रास्वपामा कुनै पनि पद र जिम्मेवारी वा अवसर पारिवारिक सम्बन्धका आधारमा तय हुन नहुने भन्दै सामाजिक सञ्जालबाटै टिप्पणी गरेकी छन् । उनले अहिले भइरहेका नियुक्तिमा प्रधानमन्त्रीका सचिवालयका व्यक्तिका आफन्तहरू पनि परेको भन्ने सञ्चार माध्यममा सार्वजनिक भएपछि उनले त्यसप्रति इंगित गर्दै लेखेकी हुन् ।

‘रास्वपाले परिवारवाद र नातावादलाई विधानमै निषेध गरेको निर्णय नेपाली राजनीतिका लागि एउटा सकारात्मक सुरुवात हो। तर बेलाबेलामा सञ्चारमाध्यममा रास्वपाको ‘फलानाको दाजु’, ‘फलानाकी बहिनी’, ‘फलानाको आफन्त’ विभिन्न जिम्मेवारीमा आएको भन्ने समाचार सार्वजनिक हुँदा जनतामा स्वाभाविक रूपमा प्रश्न उठ्छ’ संग्रौलाले लेखेकी छन् ।

यदि परिवर्तनलाई व्यवहारमै प्रमाणित गर्ने हो भने, कुनै पनि पद, जिम्मेवारी वा अवसर व्यक्तिको क्षमता, इमानदारी र योगदानका आधारमा तय हुनुपर्ने उल्लेख गरेकी छन् ।

‘रास्वपाले आफ्नो विधानको मर्मलाई अझ कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। परिवर्तनको वास्तविक मापन भाषणले होइन, व्यवहारले हुन्छ। परिवारवादको सानो छायाँसमेत देखिन नदिने राजनीतिक संस्कार नै नयाँ राजनीतिको सबैभन्दा बलियो उदाहरण हो। यो उदाहरणमा रास्वपा खरो उत्रनै पर्छ’संग्रौलाले भनेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा पनि रास्वपाका सांसदहरूले सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाएका थिए ।

सांसद बुद्धिप्रसाद पन्तले सदनमा उठाइएका विषय सरकारसम्म प्रभावकारी रूपमा नपुगेको गुनासो गर्दै साना सामान ल्याउने सर्वसाधारणमाथि कडाइ हुने तर ठूलो परिमाणमा हुने तस्करी नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए ।

सांसद टेकबहादुर शाक्यले सीमावर्ती क्षेत्रमा सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याएका सामानमा समेत भन्सार तिर्न बाध्य पारिएको भन्दै आपत्ति जनाए । उनले मधेशले लामो समयदेखि नेतामात्र बोकेको उल्लेख गर्दै अब सरकारले मधेशलाई बुझ्नुपर्ने बताए ।

सांसद रमेश प्रसाईंले कर्णालीमा भएको बस दुर्घटना र उद्धारमा भएको ढिलाइबारे गृहमन्त्रीको जवाफ माग्दै यस्ता घटना दोहोरिन नदिन सरकारले दीर्घकालीन योजना सार्वजनिक गर्नुपर्ने बताए ।

दोलखाबाट निर्वाचित सांसद जगदीश खरेलले पनि सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको मात्र नभई सांसदहरूको पनि गरिमा जोगिनुपर्ने बताए ।

रास्वपा सांसदहरूले आफ्नै पार्टी नेतृत्वको सरकारमाथि लगातार प्रश्न उठाएपछि सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सांसदहरूले उठाएका विषयमा जवाफ दिन निर्देशन दिए ।

रास्वपा नेतृत्वको सरकार बनेपछि सभामुखले सांसदहरूको प्रश्नमा सरकारलाई औपचारिक रूपमा जवाफ दिन निर्देशन दिएको यो पहिलो घटना हो । यसअघि प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिका विषयमा विपक्षी सांसदहरूले जवाफ माग्दा सभामुखले रुलिङ गरेका थिएनन् ।

यद्यपि विधान मस्यौदा सार्वजनिक भएकै दिन पार्टीका सांसदहरूको सरकारविरोधी अभिव्यक्ति र पार्टीभित्र मस्यौदालाई लिएर देखिएको असन्तुष्टिले रास्वपाभित्रको शक्ति सन्तुलन र आन्तरिक सम्बन्धबारे नयाँ बहस भने सुरु गराएको छ ।

 
Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।