गोरखा : सधैं बन्द रहने उत्तरी गोरखा र तिब्बत बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ मा रहेको रुइला नाका र वडा नं. ७ मा रहेको ङुइला नाका आउँदो शुक्रबारदेखि खुल्ने त्यहाँका जनप्रतिनिधिहरूले जानकारी दिएका छन् ।
ती नाकाहरू चिनियाँ सरकारले बर्षमा एकफेर एकतर्फी रूपमा खुलाउँछन् । एक महिनादेखि तीन महिनासम्म सीमित समयका खोलेर एकतर्फी रूपमै बन्द गर्ने वडा ध्यक्षहरूको भनाइ छ। ‘उनीहरूले सूचना गरेर खुलाउँछन्, उनीहरूले नै बन्द गर्छन्’, वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामाले भने, ‘यो सिजनका लागि आउँदो शुक्रबारदेखि खुलाउने भनेर खबर पठाएका छन् ।’ सीमा खुलेपछि तिब्बती बजार जान गाउँलेहरूले बोर्डर पास नवीकरण गरेर बसेका छन् ।
वडाअध्यक्ष कर्मा छेवाङका अनुसार सीमा नाका पुग्न गाउँबाट ६ देखि ८ घण्टा पैदल हिँड्नु पर्छ। ‘केही बर्ष पहिलेसम्म सामान किन्न कुङदाङ पुग्नु पर्थ्यो । अहिले त नाका भएकै ठाउँमा अस्थायी त्रिपाल टाँगेर हाट बजार लगाउँछन्’, उनले भने, ‘यताका गाउँलेहरूले के के किन्छन् भन्ने उनीहरूलाई थाहा हुन्छ। त्यही अनुसार सामान ल्याएर हाट बजारमा राख्छन् ।’ वडा नं. १ वडा नं. २ र वडा नं. ४ का बासिन्दाहरू सो ठाउँमा सामान किन्न जाने उनले बताए ।
सीमा क्षेत्रका बासिन्दाहरू तिब्बती बजारबाट दैनिक उपभोग्य सामान किन्ने र यताबाट यार्सागुम्बा लगायतका जडिबुटी लगेर बेच्ने गर्छन्। अरू बेला सधैं सीमा नाका बन्द रहने हुँदा सीमा पारि रहेका आफन्तजनहरूसँग भेटघाट पनि यही मौकामा गर्ने गर्छन् ।









