इटहरी / इटहरी उपमहानगरपालिका–८ को पूर्वी गैसारस्थित प्रहरी बिट अगाडि हाटबजार लाग्न थालेको छ। अब हरेक बिहीबार यहाँ हाटबजार लाग्ने स्थानीयले बताएका छन् । हाटबजार सुरु भएपछि स्थानीय बासिन्दालाई दैनिक उपभोगका सामान किन्न सजिलो भएको छ । बजारमा तरकारी, फलफूल, चामल, दाल तथा अन्य आवश्यक सामान पाइन्छन् ।
घर नजिकै बजार लाग्न थालेपछि किनमेलका लागि टाढा जानुपर्ने झन्झट पनि कम भएको स्थानीयवासी बताउँछन्। हाटबजारले किसानलाई पनि राहत मिलेको छ। किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेका तरकारी तथा अन्य कृषि उपज सिधै बजारमा ल्याएर बेच्न पाएका छन् । यसले उत्पादन बिक्री गर्न सजिलो भएको उनीहरूको भनाइ छ। स्थानीय व्यापारीहरू पनि हाटबजारबाट उत्साहित देखिएका छन् । बजारमा मानिसहरूको आउजाउ बढेसँगै व्यापार व्यवसायमा समेत केही चहलपहल बढेको छ । स्थानीयका अनुसार हाटबजार नियमित रूपमा सञ्चालन भए यस क्षेत्रका बासिन्दा, किसान र व्यापारी सबैलाई फाइदा पुग्नेछ। हाटबजारले गाउँघरको आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।









