काठमाण्डौ, कार्तिक १८: सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज कुमार केसीलाई आईजीपीमा नियुक्त गरेपछि निवर्तमान आईजीपी दानबहादुर कार्कीले कानुनी परामर्श सुरू गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको हो ।
‘ममाथि अन्याय भयो । अनएक्सपेक्टेड (अप्रत्याशित)रुपमा हटाइयो भन्ने उहाँ (कार्की)को धारणा थियो,’कार्कीलाई प्रारम्भिक सल्लाह दिएका ती कानुन व्यवसायीले लालबिहानी सँग भने,‘कानुनीरुपमा चुनौति दिने बाहेक अन्य विकल्प छैन भनेर सल्लाह दिएको छुँ । बहालवाला प्रहरी प्रमुखलाई पदबाट हटाएर राजनीतिक पद जस्तो विशेष सुरक्षा सल्लाहकारको काममा लगाउन पाइँदैन । कानुनीरुपमा सोंच्न सकिन्छ भन्ने सल्लाह दिएँ ।’











