सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार आगलागी हुँदा १८० टन कपाससहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । उद्योग परिसरभित्र रहेको कपास गोदाममा विद्युत सर्ट भई बिहान साढे १० बजेतिर आगलागी भएको हो । करिब दुई घण्टाको प्रयासपछि दिउँसो १२:३० बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । आगलागीबाट गोदाममा भण्डारण गरिएको १८० टन कपास, मिक्सिङ ब्लेण्डर, मिक्सिङ ओपनर, कन्डेन्सरलगायतका मेसिन तथा गोदाम भवनमा ठूलो क्षति पुगेको छ । घटनामा कुनै मानवीय क्षति भएको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अग्नि नियन्त्रकसहित सयौं सुरक्षाकर्मी र मजदुर परिचालन भएका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, वीरगन्ज महानगरपालिका, आदर्श कोतवाल गाउँपालिका, नेपाल आयल निगमलगायत विभिन्न निकायका ११ वटा दमकल प्रयोग गरी आगो नियन्त्रणमा ल्याइएको थियो ।उद्योगका व्यवस्थापक नन्दकिशोर सिंहका अनुसार कपासलाई एमबीओ मेसिनमार्फत धागो उत्पादनका लागि पठाउने क्रममा विद्युत सर्ट भई आगो सल्किएको हो । आगलागीबाट गोदाममा रहेको कपास, मेसिनरी उपकरण तथा भवन पूर्णरूपमा जलेर नष्ट भएको उनले बताए । घटनाबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको उद्योग प्रशासनले जनाएको छ । आगलागीपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सरोज निरौला, ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीलगायत सुरक्षा अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेका थिए ।प्रहरी नायब उपरीक्षक क्षेत्रीले आगो नियन्त्रणमा आइसकेको र पुनः क्षति हुन नदिन पूर्ण रूपमा निभाउने कार्य जारी रहेको बताए ।









