ओखलढुङ्गा : भीषण वर्षासँगै आएको बाढी र पहिरोले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ । शनिबार साँझदेखि परेको भीषण वर्षाले गाउँपालिकाको केन्द्र जोड्ने मुख्य बाटोमै रहेको पक्की पुल बगाउनुका साथै वडा नम्बर १ र २ को सिमानामा रहेको बाङ्गेखोलामा आएको बाढीले स्थानीयका घर र पशुचौपायामा क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार चिशंखुगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको गाउँपालिका केन्द्र जोड्ने बाटोको खानीखोलाको पक्की पुल बाढीले बगाएपछि पालिकाको केन्द्रसँगको सम्पर्क विच्छेद भएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विस्तृत विवरण संकलन गरिरहेको छ ।
यसैगरी, चिशंखुगढी गाउँपालिका वडा नम्बर १ को कुइभिर र वडा नम्बर २ को पोखरेको बीचमा रहेको बाङ्गेखोलामा आएको भीषण बाढीले स्थानीय बासिन्दाको घर र गोठ बगाउँदा ठूलो क्षति भएको छ । घर गोठ सँगै त्यस क्षेत्रको १०० रोपनी बढी मकै बाली भएको खेत समेत बगाएको स्थानीयले बताएका छन् । १ नम्बर वडा कार्यालयले क्षतिको विवरण सङ्कल गरी किसानलाई क्षतिपूर्ति दिन माग गरेको छ ।
बाढीसँगै आएको पहिरोले स्थानीयका घरहरू समेत उच्च जोखिममा परेका छन्। वडा नम्बर १ का रामकुमार राईको दुई तले घरको जगमुनिबाट पहिरो जाँदा घरको अगाडिको भागमा क्षति पुगेको छ भने उनको परिवार अहिले आफन्तको घरमा शरण लिन बाध्य भएका छन् । त्यस्तै, जनकबहादुर मगरको घरमाथिबाट पहिरो खस्दा घरको गारो चर्किएपछि उनको परिवार पनि आफन्तकोमा सरेको छ ।
मानवीय क्षति नभए पनि बाढी र पहिरोले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ । हराएका पशु चौपायाको खोजीका लागि स्थानीय र प्रहरीको टोली परिचालन गरिएको छ । वर्षा नरोकिएकाले थप क्षति हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।












