२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

अन्तरिक्षमा पहिलो पटक अमेरिकाद्वारा हतियारको तैनाथी

अमेरिकाले पृथ्वीको कक्षमा ‘अन्तरिक्ष हतियार’ तैनाथ गरेको पुष्टि गरेको छ । अमेरिकाले यस प्रकारको आक्रामक क्षमताबारे सार्वजनिक रूपमा स्वीकार गरेको यो पहिलोपटक हो ।

अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइङ्कले शत्रुको निगरानी गर्न यस्ता हतियार आवश्यक रहेको बताएका छन् ।सोमबार आयोजित वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा बोल्दै मेइङ्कले अमेरिका ‘बदलिँदै गरेका खतराहरू’ सामना गर्न तयार रहेको बताएका हुन् ।

तर उनले उक्त हतियारको क्षमता के हो वा यसलाई अन्तरिक्षको कक्षमा कहिले तैनाथ गरिएको हो ? भन्नेबारे विस्तृत जानकारी दिएनन् ।

अमेरिकाका वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि पनि अन्तरिक्षमा सैन्य क्षमता विस्तार गर्ने योजना रहेको बताउँदै आएका थिए ।

उनीहरूले भविष्यमा हुने सम्भावित द्वन्द्वमा अमेरिकी भू–उपग्रहमा आक्रमण गर्न तथा तिनको काममा अवरोध पुर्‍याउनसक्ने प्रविधि विकास गरिरहेका रुस तथा चीनका कार्यक्रमलाई यसको कारणका रूपमा प्रस्तुत गरेका छन् ।

चीनको चेतावनी

चीनले मंगलबार अन्तरिक्षमा ‘हतियारको होड’ नबढाउन चेतावनी दिँदै अमेरिकाको घोषणाको प्रतिक्रिया दिएको छ ।

एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामी अमेरिकी पक्षलाई आफ्नो सैन्य क्षमता विस्तार गर्न र अन्तरिक्षमा युद्धको तयारी गर्न बन्द गर्न आग्रह गर्छौं ।’

अमेरिकी अधिकारीहरूले उक्त हतियारले कसरी काम गर्छ भन्नेबारे कुनै जानकारी दिएका छैनन् ।

‘स्पेस कन्ट्रोलअन्तर्गत अन्तरिक्ष क्षेत्रमा प्रतिस्पर्धा गर्न र नियन्त्रण कायम गर्न आवश्यक पर्ने विभिन्न अभियान क्षेत्र पर्छन्,’ अमेरिकी स्पेस फोर्सका एक प्रवक्ता भन्छन्, ‘यसअन्तर्गत विरोधीको क्षमतामा अवरोध पुर्‍याउने, कमजोर बनाउने र आवश्यक परे नष्ट गर्नेसम्मका कार्य गर्न सकिन्छ ।’

उनले यी क्षमताहरूको प्रयोग लडाकु कमान्डको निर्देशनमा आक्रामक तथा रक्षात्मक दुवै उद्देश्यका लागि गर्न सकिने बताएका छन् ।

विज्ञहरू के भन्छन् ?

अन्तरिक्षको सैन्य प्रयोगसम्बन्धी एक विज्ञले यो प्रविधिबारे सार्वजनिक रूपमा धेरै कम जानकारी उपलब्ध रहेको बताएका छन् । उनले बीबीसीसँग कुरा गर्दै यसमा ‘विभिन्न प्रकारका हतियार प्रणालीको पूरै दायरा’ हुनसक्ने बताए ।

रोयल युनाइटेड सर्भिसेस इन्स्टिच्युटका डा. ब्लेडिन बोवेनले रेडियो ४ को ‘टुडे’ कार्यक्रममा अमेरिकाले ‘कुनै प्रकारको इलेक्ट्रोनिक युद्ध वा रेडियो जामिङ प्लाटफर्म’ को कुरा गरिरहेको हुनसक्ने बताए ।

‘यस्तो हतियार पृथ्वीमा पहिल्यै प्रयोगमा रहेको प्रविधिजस्तै हुनसक्छ, जसले रेडियो सञ्चारमा अवरोध पुर्‍याउन सक्छ,’ बोवेनले भने ।

अर्को सम्भावना ‘काइनेटिक किल भेहिकल’ अर्थात् कुनै वस्तुलाई भौतिक रूपमा प्रहार गरेर नष्ट गर्न सक्ने अन्तरिक्षीय प्रणाली हुन सक्ने उनले बताए ।

यस्तो प्रणालीले मिसाइल वा अन्य प्रक्षेप्यास्त्र प्रहार गरी कुनै भू–उपग्रहमा ठोक्काएर त्यसलाई नष्ट गर्न सक्छ ।

तर बोवेनले यस्तो हतियारको सम्भावना कम रहेको बताए । उनका अनुसार यस्तो प्रणाली प्रयोग गर्दा ठूलो मात्रामा अन्तरिक्षीय फोहोर उत्पादन हुनसक्छ ।

ट्रम्प प्रशासनले अन्तरिक्षमा आधारित क्षमता र इन्टरसेप्टर मिसाइलहरू अमेरिकालाई मिसाइल तथा अन्य हवाई खतराबाट जोगाउने ‘गोल्डेन डोम’ रक्षा प्रणालीको महत्वपूर्ण हिस्सा रहेको बताउँदै आएको छ ।

गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै अमेरिकी स्पेस फोर्सको भूमिकालाई अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको रक्षा गर्नेमै सीमित नराखी आक्रमण गर्नसक्ने सैन्य शक्तिका रूपमा पनि प्रस्तुत गरेका थिए ।

अमेरिकी स्पेस फोर्सको स्थापना सन् २०१९ मा गरिएको थियो । यसको उद्देश्य अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको सुरक्षा गर्नु हो । तीमध्ये सञ्चार तथा निगरानीका लागि प्रयोग हुने सयौँ भू–उपग्रह पनि छन् ।

अन्तरिक्षमा युद्धको इतिहास

सन् १९६७ मा भएको एउटा अन्तर्राष्ट्रिय सन्धिले पृथ्वीको कक्षमा व्यापक विनाश गर्नसक्ने हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको थियो । त्यसयता अमेरिका, रुस र चीनजस्ता प्रमुख शक्तिहरूले उक्त सन्धिको दायराभन्दा बाहिर पर्ने अन्य सैन्य क्षमता विकास गर्दै आएका छन् ।

यसमा प्रतिद्वन्द्वी देशका भू–उपग्रहलाई लक्षित गर्ने क्षमता पनि पर्छ । यस्ता भू–उपग्रह सैन्य सञ्चार, निगरानी तथा नेभिगेसनका लागि महत्वपूर्ण मानिन्छन् ।

गत फेब्रुअरीको सुरुवातमा सार्वजनिक भएको एक विवरणअनुसार, सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता रुसका दुई भू–उपग्रहले कम्तीमा एक दर्जन युरोपेली भू–उपग्रहको सञ्चारमा सम्भावित रूपमा हस्तक्षेप गरेका थिए ।

यसबाट रुसी गुप्तचर निकायहरूले ती भू–उपग्रहबाट पठाइएका संवेदनशील डेटा पढ्न सकेको हुनसक्ने वा सैद्धान्तिक रूपमा ती भू–उपग्रहको नियन्त्रणसमेत आफ्नो हातमा लिन सक्ने अवस्था बनेको हुन सक्ने बताइएको थियो ।

सन् २०२४ मा अमेरिकाले रुसले एउटा यस्तो भू–उपग्रह प्रक्षेपण गरेको बताएको थियो, जुन अर्को भू–उपग्रहमा आक्रमण गर्न सक्षम हुन सक्ने उसको आकलन थियो ।

रुसले भने यस विषयमा सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको थिएन ।

अमेरिकी स्पेस फोर्सका अनुसार चीनले सैन्य आधुनिकीकरणको रणनीतिअन्तर्गत अन्तरिक्ष तथा काउन्टरस्पेस क्षमता विकास र सञ्चालन गरिरहेको छ ।

त्यस्तै, रुसले अन्तरिक्षलाई युद्धको एउटा क्षेत्रका रूपमा हेर्छ र भविष्यका द्वन्द्वमा अन्तरिक्षमाथिको प्रभुत्व निर्णायक कारक हुने विश्वास राख्छ ।

–बीबीसीबाट

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।