काठमाण्डौ,भदौ ३०: बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका ७ शीर्ष नेताहरूमाथि मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै उनीहरूमाथि मृत्युदण्डको सजाय सुनाइएको हो । सातै जना नेताहरूमाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको छ ।
यो मुद्दाका लागि तीन सदस्यीय ट्रिब्युनल (आईसीटी–२) को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए ।
सातै अभियुक्तविरुद्ध उनीहरूको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । उनीहरू फरार रहेको भनिएको छ ।
मृत्युदण्ड सुनाइएका नेतामा अवामी लिगका महासचिव ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम र मोहम्मद अली अराफात छन् ।
यस्तै, जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनले जनाएको छ ।
अदालतले सातै अभियुक्तका तर्फबाट सरकारी वकिल नियुक्त गरेको थियो । यसअघि सन् २०२४ कै विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि मृत्युदण्ड सुनाइएको थियो ।












