काठमाडौं : सरकारले देशैभरिका महिला तथा बालिकाहरूको सार्वजनिक आवागमनलाई सुरक्षित, सहज र सम्मानजनक बनाउने उद्देश्यले सातवटै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको १०० दिने विशेष कार्यसूचीअन्तर्गत यो महत्त्वाकांक्षी परियोजनालाई उच्च प्राथमिकतामा राखेर तीव्र गतिमा काम गरिरहेको जनाएको छ । परियोजनाको पहिलो चरणअन्तर्गत आगामी १०० दिनभित्र मुलुकभर कम्तीमा २५ वटा सुविधासम्पन्न ‘ब्लु बस’ सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यस योजनाअनुरूप काठमाडौं उपत्यकामा साझा यातायातसँगको प्राविधिक तथा व्यवस्थापकीय सहकार्यमा कम्तीमा सातवटा बसलाई ‘ब्लु बस’का रूपमा गुडाइनेछ ।
मन्त्रालयका अनुसार ब्लु बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, विस्तृत समय सारिणी, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारीसहितको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ । उक्त प्रस्तावको आधारमा मन्त्रालयले प्राविधिक र कानुनी पक्षको अध्ययन गरिरहेको छ भने सेवा सञ्चालनका विभिन्न विकल्पहरू समेटिएको अन्तिम प्रस्ताव स्वीकृतिका लागि मन्त्रीस्तरीय निर्णयमा पेस भइसकेको छ ।
‘ब्लु बस’ सँगै अन्य सार्वजनिक सवारी साधनलाई समेत प्रविधिमैत्री, सुरक्षित र यात्रुमैत्री बनाउन नयाँ मापदण्डको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रियामा लगिएको छ ।












