पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाने सडकखण्डमा आइतबार मोदी खोलामा आएको आकस्मिक बाढीले दुई होटल, एउटा पुल र सडक बगाएको छ। सडक अवरुद्ध भएपछि पर्यटकीय गाउँ घान्द्रुक पुगेका तथा त्यहाँ जाने क्रममा रहेका सवारीसाधन अलपत्र परेका छन् । अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार बाढीले स्थानीय दिलिप गुरुङ र जगन पुनको होटल पूर्ण रूपमा बगाएको छ ।

होटल बगेपछि दुवै परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । बाढीले घान्द्रुक जोड्ने सडक कटान गरेपछि पर्यटक बोकेका सवारीसाधन दुवैतर्फ रोकिएका छन् । घान्द्रुक पुगेका गाडी पनि सडक अवरुद्ध भएकाले फर्किन सकेका छैनन् । बाढीले अन्नपूर्ण आधार शिविर पदमार्गअन्तर्गत घान्द्रुक–छोमरोङ जोड्ने किम्रुङ खोलामाथिको पुलसमेत बगाएको छ।

स्थानीयका अनुसार किम्रुङ खोलामा आएको एक्कासिको बाढी मोदी खोलामा मिसिएपछि मोदी खोला उर्लिएको हो । ‘माथिल्लो क्षेत्रमा पहिरो खसेर खोला थुनिएको र त्यसपछि एक्कासि बाढी आएको हुन सक्छ। किम्रुङ खोलामा आएको बाढीले मोदी खोला पनि उर्लियो,’ प्रवक्ता गुरुङले भने, ‘बाढीले पुल र सडक दुवै बगाएको छ।’ कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको जानकारी दिए। उनका अनुसार घटनास्थलमा अहिले थप बाढीको जोखिम नदेखिएको र केही घण्टाभित्र सडक एकतर्फी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
‘घान्द्रुक जाने सडक खुलाउन डोजर परिचालन गरिएको छ । मौसमले साथ दिए केही घण्टामै आवागमन सञ्चालन गर्ने लक्ष्य छ,’ प्रमुख जिल्ला अधिकारी गुरुङले भने।












