काठमाण्डौ : चीनको सान्या सहरमा आयोजना भएको हाइनान बिच तेक्वान्दो ओपन च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित कुल ३४ पदक जित्न सफल भएको छ । सान्या तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूले ग्यारोगी, पुम्से, फिस्ट ब्रेकिङ र जम्प रोप विधामा कुल ३४ पदक हात पारेका हुन् ।
जुलाई २७ देखि २९ सम्म आयोजना भएको प्रतियोगितामा नेपालले १२ स्वर्ण, ८ रजत र १४ कास्य पदक जितेको छ। प्रतियोगितामा नेपालका अनुप शाक्य र हृदयानी बस्नेतले दोहोरो स्वर्ण हात पारेका छन् । अनुपले ग्यारोगी ३२ केजी र १० देखि १२ वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेका हुन् । उनले जम्प रोपमा समेत कास्य पदक प्राप्त गरेका छन् । यसैगरी हृदयानीले ग्यारोगी ३४ केजी र जम्प रोपमा स्वर्णका साथै १२ देखि १४ वर्षको पुम्सेमा रजत पदक हात पारिन् ।
यता अस्टिन पाण्डेले २३ केजीमा स्वर्ण, पुम्से र जम्प रोपमा कास्य पदक हात पारेका छन् । जोलिना बस्नेतले १२ देखि १४ वर्षको पुम्सेमा स्वर्ण, ग्यारोगी ४३ केजीमा रजत र जम्प रोपमा कास्य पदक जितेकी छिन् ।
यसैगरी सबिन विश्वकर्माले फिस्ट ब्रेकिङ र देवराज खम्छाले ३० वर्षमुनिको पुम्सेमा स्वर्ण पदक हात पारेका छन्। ४६ केजी तौल समूहमा कुश योग सुनुवारले स्वर्ण र जम्प रोपमा रजत, लभ योग सुनुवारले ग्यारोगी ४६ केजी र जम्प रोपमा रजत, सिरजल ढकालले ६५ केजी माथिको ग्यारोगीमा रजत र जम्प रोपमा कास्य जितेका छन् ।
यसैगरी दीपश्री तामाङले ३८ केजीमा रजत तथा पुम्से र जम्प रोपमा कास्य, पार्वती बस्नेतले फिस्ट ब्रेकिङमा रजत तथा जम्प रोपमा कास्य र करुण नेपालीले १४ वर्षमुनिको पुम्सेमा रजत पदक जितेका छन्। ३० वर्षमुनिको पुम्सेमा निर्मला ठाडाले टोलीका लागि कास्य पदक सुनिश्चित गरिन् ।
नेपाली टोलीका प्रशिक्षक काजल श्रेष्ठले खेलाडीहरुको उत्कृष्ट प्रदर्शन रहेको बताइन्। यस्तो प्रतियोगितामा सहभागी भएर पदक जित्दा देशको नामको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनिनुका साथै खेलाडीमा समेत हौसला मिल्ने श्रेष्ठको भनाइ थियो । श्रेष्ठ उत्कृष्ट कोच घोषित भइन् । नेपालबाट सहभागी अन्तर्राष्ट्रिय रेफ्री कुमार लामा घिसिङ उत्कृष्ट रेफ्रीको रूपमा सम्मानित भएका छन् ।












