सुनसरी श्रावण १३ : सुनसरीमा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको तनाव मंगलबार झनै उग्र बन्दै गएपछि जिल्लाको शान्तिसुरक्षा संवेदनशील बनेको छ। देवानगन्ज गाउँपालिका–३ को कप्तानगन्जमा भएको घटनापछि सुरु भएको आन्दोलन अहिले जिल्लाका विभिन्न पालिकामा फैलिएको छ।
दुई समूहको आन्दोलनका कारण इटहरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ भने सदरमुकाम इनरुवा पूर्णरूपमा बन्द भएको छ। यातायात ठप्प हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा र दैनिक जनजीवनमा गम्भीर असर परेको छ । पकलीदेखि कोशी ब्यारेजसम्मको २ सय मिटर उत्तर–दक्षिण क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु जारी गरिएको छ।
इनरुवा नगरपालिका, देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका तथा रामधुनी नगरपालिकाको झुम्का, इटहरीको पकली र कान्छीचोकलगायतका क्षेत्रमा प्रदर्शन जारी छ। हिन्दु बहुल क्षेत्रमा हिन्दु समुदाय र मुस्लिम बहुल क्षेत्रमा मुस्लिम समुदायका प्रदर्शनकारी सडकमा उत्रिएका छन्। आन्दोलन कुनै एक नेतृत्वको नियन्त्रणमा नरहेकाले सुरक्षा निकायलाई अवस्था नियन्त्रणमा लिन थप चुनौती सिर्जना भएको छ । स्थिति नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले प्रशासनको पहिलो प्राथमिकता नागरिकको जिउधनको सुरक्षा र शान्ति स्थापना रहेको बताए । उनले सबै पक्षलाई संयम अपनाउन, अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन तथा वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनले बताएका छन् ।

केही स्थानमा दुवै समुदायका उग्र समूहले एकअर्काका घर, पसल तथा धार्मिक स्थलमा आक्रमण, तोडफोड र आगजनी गरेको जानकारी प्राप्त भएको छ । यद्यपि ती घटनाको आधिकारिक विवरण सम्बन्धित निकायले सार्वजनिक गरिसकेको छैन। प्रशासनले सत्यतथ्य पुष्टि नभएका सूचना नफैलाउन आग्रह गर्दै गलत सूचना फैलाउनेमाथि कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
कप्तानगन्ज घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको थियो । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय तानेर संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरी पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेको स्थानमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गणका प्रमुख एसपी श्यामकुमार कार्कीको स्थानमा एसपी लवकुमार सापकोटालाई जिम्मेवारी दिइएको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेको स्थानमा डीआईजी शेखर खनाललाई पठाइएको छ। तर, नेतृत्व परिवर्तनपछि पनि आन्दोलन नियन्त्रणमा आउन नसकेको भन्दै स्थानीयले सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार प्रशासनिक नेतृत्व परिवर्तन मात्रै पर्याप्त नभई स्थानीय तह, राजनीतिक दल, समुदायका अगुवा र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक थियो। समयमै संवाद र विश्वास निर्माणको पहल हुन नसक्दा आन्दोलन झन् फैलिएको उनीहरूको भनाइ छ।
स्थानीयका अनुसार आन्दोलनका क्रममा भारतबाट नेपाल प्रवेश गरेका केही व्यक्तिहरूले तोडफोड, लुटपाट र आगजनीमा संलग्न भएको आरोप लागेको छ । सीमा क्षेत्रमा निगरानी थप कडा बनाउनुपर्ने, अवैध आवतजावत रोक्नुपर्ने र बाह्य तत्वको सम्भावित संलग्नताबारे निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले उठाएका छन् ।












