काठमाण्डौ : खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन् ।
अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
राष्ट्रिय सुरक्षाका विषयमा नाम नखुलाउने सर्तमा ती अधिकारीहरूले सीआईए सुविधाहरूमा भएका आक्रमणमा रुसको प्रत्यक्ष संलग्नताबारे हालसम्म कुनै ठोस निष्कर्षमा नपुगिएको बताएका छन्। तर, आक्रमणको अचुक निशाना, उच्च प्रभावकारिता र इरानलाई रुसले लगातार दिँदै आएको प्राविधिक सहयोगका कारण रुसी संलग्नताको बलियो सम्भावना रहेको उनीहरूको भनाइ छ।
पश्चिमी गुप्तचर निकायको एक आन्तरिक ज्ञापनपत्रले पनि खाडी क्षेत्रका सीआईए सुविधाहरूलाई निशाना बनाउन रुसले सम्भवतः महत्त्वपूर्ण भूमिका खेलेको निष्कर्ष निकालेको छ।
गल्फ क्षेत्रमा कार्यरत दुई पश्चिमी अधिकारीहरूका अनुसार साउदी अरेबियामा भएको आक्रमणमा रुसी प्रविधिद्वारा स्तरोन्नति गरिएका इरानी ‘शाहेद’ ड्रोनहरूको प्रयोग गरिएको अनुमान छ। एउटा ड्रोनले दूतावासको बाहिरी संवेदनशील पर्खालमा प्वाल पारेको र लगत्तै दोस्रो ड्रोन सोही प्वालबाट भित्र छिरेर विस्फोट भएको जनाइएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको थिएन।
रुसले इरानका ‘शाहेद-१३६’ ड्रोनहरूको क्षमता र निशाना सुधार्न आफ्नै भू-उपग्रह नेभिगेसन प्रणाली ‘कोमेटा-एम’ उपलब्ध गराएको बताइएको छ। यो प्रणाली इरानको आफ्नै प्रविधिभन्दा निकै सटीक र ‘जामिङ’ गर्न कठिन मानिन्छ।यद्यपि, रुसले इरानलाई यस्ता प्रविधि दिएको खबरलाई अस्वीकार गर्दै यसलाई ‘झूटो खबर’ भनेको छ।
उता सीआईए र ह्वाइट हाउसभित्र भने अर्को गम्भीर बहस सुरु भएको छ। अधिकारीहरूका अनुसार विदेशमा रहेका सीआईए स्टेशनहरूको स्थान अत्यन्तै गोप्य राखिने भएकाले यस्ता संवेदनशील स्थानहरूमा इरानले कसरी सही निशाना लगाउन सक्यो भन्ने विषयमा चिन्ता उत्पन्न भएको छ।
पूर्व सीआईए स्टेशन प्रमुख ड्यानियल होफम्यानका अनुसार, अमेरिका र इरानबीचको तनावका बीच रुसले इरानलाई सहयोग गर्नु अचम्मको विषय होइन। दुवै देशले आ-आफ्नो प्रभाव क्षेत्रबाट अमेरिकी प्रभाव घटाउने साझा रणनीति लिएका छन्। यस विषयमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया नदिई प्रश्नहरू सीआईएतिर सोझ्याएको छ भने सीआईएले टिप्पणी गर्न अस्वीकार गरेको छ। इरान, रुसी रक्षा मन्त्रालय र साउदी सरकारले पनि यस सम्बन्धमा हालसम्म कुनै आधिकारिक बयान दिएका छैनन्।












