नुवाकोट,भदौ ६ : बञ्चरेडाँडा फोहोरको चुलीबाट लिच्चड बगिरहेको छ । ड्याम्प भरिएर लिच्चड खोलामा मिसिएको छ । हावाले दुर्गन्ध घरघरमा पुर्याउँछ । काग र चिलले सिनो आँगनमा खसाउँछ ।
यो सिसडोल–बञ्चरेडाँडा क्षेत्रमा काठमाडौं उपत्यकाको फोहोर खसाउन थालेपछि त्यहाँका स्थानीय हरकसँगै जीवन जिउन विवश छन् । ‘हरकसँगै नरकको जीवन बाँचिरहेका छौँ,’ ध्रुवप्रसाद उप्रेती ले फोहोरका कारण पाएको सास्ती सुनाउँदै प्रश्न गर्न थाले, ‘काठमाडौंका मात्र मान्छे ? हामी मान्छे होइनौं ? फोहोर र मान्छे सँगै राख्न मिल्छ त ?’ फोहोर र मान्छे सँगै नराख्ने योजनासहित धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाको सिमाना बञ्चरेडाँडामा विगत ४ वर्षदेखि फोहोर विर्सजन गर्न थालियो । पहिलो सेलको निर्माण सकिएपछि २०७९ जेठ १० गतेबाट बञ्चरेडाँडामा फोहोर खसाउन थालिएको हो ।
दोस्रो सेल निर्माण हुँन बाँकी हुँदा नै तत्कालीन शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनमा फोहोर खन्याइएको थियो । त्यसको एक वर्षपछि दोस्रो सेल निर्माण गरियो ।
वैज्ञानिक प्रविधिबाट व्यवस्थापन गर्नेगरी बञ्चरेडाँडामा स्यानेटरी ल्यान्डफिल साइट तत्कालीन शहरी विकास मन्त्रालयले बनाएको हो ।
तर फोहोर खनाउन थालिएको चार वर्षमै ल्यान्डफिल साइट भरिएको छ । २० वर्षका लागि बनाइएको ल्यान्डफिल साइटमा फोहोरको चुली बनेको छ ।
उपत्यकासहित २१ वटा पालिकाको फोहोरले बञ्चरेडाँडा पनि सिसडोल झैं डम्पिङ साइट भएको छ । स्यानेटरी ल्यान्डफिल साइट कसरी डम्पिङ साइट बन्यो ? किन वैज्ञानिक व्यवस्थापन हुन सकेन ? आयोजना किन संकटमा पुग्यो ? यसविषयमा स्थानियको चासोको बिषय रहेको छ

चार वर्षमै भरियो, १ अर्ब बढी स्वाहा
वैज्ञानिक विधिबाट फोहोर विसर्जन गर्नेगरी तत्कालीन शहरी विकास मन्त्रालयले १ अर्बभन्दा बढी लागतमा ल्यान्डफिल साइट बनाएर काठमाडौं महानगरलाई हस्तान्तरण गर्यो । संघ सरकारले निर्माण र व्यवस्थापन महानगरले गर्नेगरी साइट बनाइएको थियो । तर वैज्ञानिक विधिबाट विसर्जन गर्न महानगरले बेवास्ता गरेका कारण डम्पिङसाइट बनेको आरोप संघीय सरकारको छ ।
शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर माधव कटुवाल ल्याण्डफिलसाइट डम्पिङसाइटमा परिणत हुनुमा काठमाडौँ महानगर जिम्मेवार भएको टिप्पणी गर्छन् ।
कुहिने र नकुहिने फोहोर छुट्टाएर नकुहिने फोहोर मात्र विर्सजन गर्नेगरी बनाइएको ल्यान्डफिल साइट हो । नकुहिने फोहोरमा पनि पुनःप्रयोगमा नआउने र कामै नलाग्ने फोहोर मात्र बञ्चरेडाँडा पुर्याउनु पर्ने हो । तर जसरी फोहोर संकलन गरियो त्यसैगरी ल्यान्डफिल साइटमा पुर्याइयो ।
‘डम्पिङ साइट र ल्याण्डफिलसाइटको फरक बुझिएन । जसरी फोहोर संकलन गरियो त्यस्तै हुबहु लगेर फालियो,’ इन्जिनियर कटुवालले भने, ‘अव्यवस्थित ढंगले खन्याउँदा फोहोरको पहाड बन्दै गयो ।’
मन्त्रालयले ल्याण्डफिलसाइट हस्तान्तरण गर्दा २० वर्षसम्म आयु भएको बताएको थियो । तर फोहोर यही तरिकाले विसर्जन गर्दै जाने हो भने अबको चार वर्षभन्दा बढी समय नधान्ने निष्कर्षमा सरकार नै पुगेको छ । नकुहिने फोहोरको केही अंश भने कवाडीवालाहरूले संकलन गरेका छन् । तर कुहिने फोहोरको व्यवस्थापन नहुँदा बञ्चरेडाँडामा संकट निम्तिएको छ ।
‘कुहिने फोहोरको पूर्वाधार भएन । सबै फोहोर सँगै लैजाँदा समस्या भयो,’ कटुवालले भने, ‘काठमाडौंको मात्रै फोहोर होइन । २१ पालिकाको फोहोर गइरहेको छ । पालिकाले आफ्नो फोहोर व्यवस्थापनको जिम्मा लिएनन् भने चार वर्षमा डिजास्टर हुन्छ । बञ्चरेडाँडामा काठमाडौंदेखि काभ्रेको पाँचखालसम्मको फोहोर पुर्याइन्छ ।

व्यवस्थापनमा चुकेको संयन्त्र
सरकारी संयन्त्रले व्यवस्थापन गर्न नसक्नुमा एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । तर काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा चुकेको स्वीकार गरेको छ । महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई घर घरबाट कुहिने र नकुहिने फोहोर नछुट्याइदिँदा जटिल भएको बताउँछिन् ।
छुटिएको फोहोर व्यवस्थापनका लागि पनि जग्गा चाहिन्छ । तर त्यो जग्गा नभएर पनि समस्या भएको महानगरको तर्क छ । महानगरले भने जग्गालाई कारण देखाएको छ । संघीय सरकारसँग जग्गा मागे पनि उपलब्ध नगराएको संकेत महानगरले गरेको छ । महानगरले जग्गा प्राप्त गर्न नसक्नुको कारण स्पष्टरूपमा महानगरले खुलाएन ।भएको छ । क्यापिङ गर्ने लिच्चड सफा बनाउने काम नभएकाले गाउँभरी दुर्गन्ध फैलिएको छ,’ धुनेवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले भने ।
मान्छे मात्र होइन यो क्षेत्रमा अनाज उत्पादनमा समेत ह्रास आएको छ । ‘लिच्चड खेतमा पर्यो भने धानको गेडा लाग्दैन, पराल मात्रै बाँकी रहन्छ,’ स्थानीय खेमबहादुर थापाले भने, ‘खेत, बाली, पशु, मानिसको स्वास्थ्य सबै प्रभावित भएको छ ।’
फोहोर लैजानुअघि आफ्नै खेतबारीको अनाजले परिवार धान्थ्यो । तर उत्पादनमा ह्रास आएपछि त्यसक्षेत्रका स्थानीय बजारमा निर्भर हुन थालेका छन् । स्थानीयका अनुसार धान, गहुँ, मकै, उखु, सुन्तला, अम्बा, भोगटे, आरु र नास्पाती प्रशस्त हुन्थ्यो । ‘पहिला सामान्य तरिकाले गहुँ छर्दा पनि २६–२७ मुरीसम्म फल्थ्यो । अहिले गहुँ फल्दैन । धान रोप्यो भने पनि गेडा लाग्दैन,’ स्थानीय दिपक कार्कीले भने, ‘बिहान–बेलुकाको छाक त टार्नुपर्यो । बजारबाट अन्न ल्याएर खानुपर्छ ।’
यस क्षेत्रका अधिकांशको आम्दानीको स्रोत नै कृषि हो । कृषकले बाली भित्र्याउन त पाएका छैनन् । पशुपालन पनि संकटमा परेको छ । स्थानीय बद्रीबहादुर ओझाको अनुभवमा पहिला गाई, भैँसी र बाख्रा पालेर दूध, दही र घिउ बिक्री हुने गरेको थियो । ‘अहिले पशुपालन गर्न सकिँदैन । बाख्रा पाल्यो भने बिरामी पर्छ । कुकुरले टोक्छ वा मर्छ । यो घरघरको समस्या हो,’ उनले भने, ‘फलफूल पनि किरा लागेर सकिन्छ ।’












