काठमाण्डौ,भदौ २६ : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सांसद बर्षमान पुनले सत्तामा रहिरहने भ्रमबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत सत्ता फेरबदल भइरहने स्मरण गराए ।
कार्यालयका भित्तामा झुण्डिएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीका तस्बिर हेरेर सधैँ सत्तामा रहिरहने भ्रम नपाल्न उनको सुझाव छ। उनले सरकारलाई दम्भी, अहंकारी र धम्कीपूर्ण शैली त्यागी विनम्र हुन तथा सबैको अस्तित्व स्वीकार्न आग्रह समेत गरे।
सांसद पुनले चुनावअघि ’पैसा नहुनेले पढ्न पाउँछ’ भन्ने अभिव्यक्ति दिइएको तर सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु बिजुली खपतमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए। उनले जेनजी आन्दोलनको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बुझाएका दुवै प्रतिवेदन तत्काल सार्वजनिक गरी सिफारिस कार्यान्वयन गर्न माग गरे ।












