काठमाण्डौ,भदौ २६ : काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दामा आरोपपत्र दायर गरेको छ।
गैरकानुनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अभियोगमा अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले महतोविरुद्ध ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी बिगोको दोब्बर जरिवाना, कैद सजाय, जग्गा जफत र थप १० प्रतिशत सजायसमेत हुन मागदाबी लिएको छ।
त्यस्तै, महतोकी श्रीमती मालाकुमारी महतोले पतिले भ्रष्टाचार गरी आर्जन गरेको अवैध सम्पत्ति भन्ने थाहा पाउँदापाउँदै घरजग्गा कारोबारमा लगानी गरी स्रोत लुकाउने काम गरेकाले उनलाई पनि सोही बमोजिम ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपैयाँ ९८ पैसा बिगो कायम गरी दोब्बर जरिवाना, कैद र जग्गा जफतको मागदाबी गरिएको छ।
मालाकुमारीकी सहोदर बहिनी रीना कुशवाह र उनका श्रीमान् कृष्णप्रसाद मेहताले मुख्य कसुरदारको गैरकानुनी सम्पत्ति रूपान्तरण, हस्तान्तरण र अधिकार लुकाउने कार्यमा मतियार भई मद्दत तथा सहजीकरण गरेकाले उनीहरूलाई मुख्य कसुरदार महतोलाई हुने सजायको आधा सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले लालबिहानीलाई बताए।












