काठमाण्डौ, कार्तिक २१ : साउदी अरबमा पछिल्लो समय देखिएको हवाई उडानसम्बन्धी असहज परिस्थितिका कारण नेपाल–साउदी अरब आवतजावत गर्ने हजारौँ नेपाली यात्रु समस्यामा परेका छन्। विशेषगरी हिमालयन एयरलाइन्सका उडानहरू लगातार रद्द तथा अनिश्चित हुँदा स्वदेश फर्किन र रोजगारीका लागि साउदी अरब आउन लागेका नेपाली यात्रुहरू ठूलो सकसमा परेका हुन् ।
प्राप्त विवरणअनुसार गत ११ अक्टोबरदेखि ५ नोभेम्बर २०२६ सम्म दमाम–काठमाडौं र काठमाडौं–दमाम रुटका हिमालयन एयरलाइन्सका २६ उडान रद्द भएका छन् । यसबाट करिब ३ हजार ७५० यात्रु प्रभावित भएको अनुमान छ। उडान रद्द भएपछि धेरै यात्रु टिकट भएर पनि गन्तव्यमा पुग्न सकेका छैनन् भने कतिपयको यात्रा अझै अनिश्चित बनेको छ। विशेषगरी साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरू यसबाट बढी प्रभावित भएका छन्। कम्पनीबाट निश्चित अवधिका लागि बिदा लिएर नेपाल जान लागेका श्रमिकहरू उडान रद्द हुँदा समयमै कार्यस्थलमा फर्किन नसक्ने अवस्थामा पुगेका छन् । लामो समयसम्म नेपालमै रोकिनुपर्ने अवस्था आएमा कम्पनीको जागिर नै गुम्न सक्ने चिन्ता उनीहरूमा बढेको छ। त्यसैगरी नेपालबाट नयाँ रोजगारीका लागि साउदी जान लागेका श्रमिकहरू पनि अन्योलमा परेका छन्।












