२०८३ कार्तिक २१ शुक्रबार
Search
२०८३ कार्तिक २१ शुक्रबार

फेरि इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्नेमा : ट्रम्प

 

काठमाण्डौ,कार्तिक २० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि फेरि ठूलो सैन्य आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय चाँडै लिने बताएका छन् ।

बिहीबार ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँगको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त भएको सुनिश्चित गर्न थप आक्रमण गर्नुपर्ने हुन सक्ने बताएका हुन् ।

मध्यावधि निर्वाचनपछि इरानबारे पहिलोपटक उच्च सुरक्षा अधिकारीहरूसँग छलफल गरेका ट्रम्पले अब आफूले यसबारेमा निर्णय लिने बताए।

‘अब हामी निर्णय गर्नेछौँ,’ उनले भने, ‘इरानको आणविक कार्यक्रम पूर्ण रूपमा समाप्त भएको र फेरि कहिल्यै त्यस्तो कार्यक्रम नहुने सुनिश्चित गर्न थप आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय हुनेछ।’

सम्भव भएसम्म इरानको बाँकी पूर्वाधार नष्ट गर्न चाहना नभएको उनले बताए। ‘म सम्भव भए बाँकी देशलाई नष्ट गर्न चाहन्नँ, तर सायद त्यसो गर्नुपर्ने पनि हुन सक्छ। चाँडै थाहा पाउनुहुनेछ,’ उनले भने।

इरानमा पुनः आक्रमणको निर्णय गर्न ट्रम्प अहिले तुलनात्मक रूपमा सहज राजनीतिक अवस्थामा छन्।

नोभेम्बर ३ को मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा बहुमत गुमाए पनि नयाँ निर्वाचित सांसदहरूले जनवरी ३ देखि मात्रै कार्यभार सम्हाल्नेछन् । त्यतिन्जेल सिनेट र प्रतिनिधिसभा दुवैमा रिपब्लिकनकै बहुमत कायम रहनेछ।

अर्थात्, निर्वाचनमा पराजित भए पनि तत्कालका लागि कंग्रेसमा ट्रम्पकै पार्टीको बहुमत छ।

त्यसैले इरानमाथि सैन्य कारबाही गर्ने निर्णयमा उनलाई कंग्रेसबाट आउने संसदीय दबाब तुलनात्मक रूपमा कम हुन सक्छ।

जनवरीमा नयाँ कंग्रेस सुरु भएपछि भने डेमोक्रेटिक पार्टीले दुवै सदनको नेतृत्व सम्हाल्नेछ र ट्रम्प प्रशासनमाथि निगरानी तथा अनुसन्धान अघि बढाउन सक्नेछ।

काउन्सिल अन फरेन रिलेसन्सका अनुसार नयाँ कंग्रेस बसेपछि विदेश नीति र रक्षा खर्च हेर्ने समितिहरूको नेतृत्व डेमोक्रेटहरूले सम्हाल्नेछन्।

उनीहरूले इरान युद्ध, सैन्य कारबाहीको खर्च र प्रशासनका निर्णयबारे सुनुवाइ गर्न सक्छन्। यसले ट्रम्पमाथि राजनीतिक दबाब बढाउने सम्भावना छ।

त्यसैले जनवरीअघि नै इरानबारे निर्णय लिनुपर्ने राजनीतिक परिस्थिति ट्रम्पसामु छ।अमेरिकी अनलाइन एक्सियसका अनुसार ट्रम्पले अहिले तीन विकल्पमाथि विचार गरिरहेका छन् । पहिलो, इरानमाथि फेरि ठूलो सैन्य आक्रमण गर्ने। दोस्रो, नौसैनिक नाकाबन्दी र आर्थिक प्रतिबन्धमार्फत दबाब जारी राख्ने।

र तेस्रो, इरान उल्लेख्य लचक भए सम्झौता गर्ने।यता अमेरिकी सेनाको केन्द्रीय कमान्डले सम्भावित ठूलो सैन्य कारबाहीका लागि तयारी अवस्थामा छ।

तर ह्वाइट हाउसबाट अहिलेसम्म आक्रमणको नयाँ निर्देशन जारी भएको छैन।  सम्भावित आक्रमणको अर्को संकेतका रूपमा अमेरिकाले तेस्रो विमानवाहक युद्धपोत समूह मध्यपूर्व पठाउन सक्ने विषयलाई हेरिएको छ। यूएसएस थियोडोर रुजवेल्टको विमानवाहक समूह शुक्रबारदेखि केही दिन सिंगापुरमा रहने र नोभेम्बरको मध्यतिर मात्रै मध्यपूर्व पुग्ने अपेक्षा छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।