काठमाण्डौ,कार्तिक ३० : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस सोमबार बिहान करिब ०६:४० बजेको समयमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
चालकले नियन्त्रण गुमाउँदा भएको उक्त दुर्घटनामा परी बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन् । दुर्घटनालगत्तै उद्धार गरी सबै घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ ।
प्रहरीले दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ। बस सडकबाट पन्छाएर राजमार्गको आवागमन नियमित बनाइएको छ।












