सिमरा : बाराको सिमरामा प्रत्येक वर्ष आयोजना हुने जीतपुर–सिमरा क्रिकेट कप प्रतियोगिताले एनएपीएल फ्रेन्चाईज क्लब जनकपुर बोल्ट्सको साथ पाएको छ । तेस्रो संस्करणको प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको जीतपुरसिमरा स्पोट्र्स क्लबले यसपटक जनकपुर बोल्ट्सको साथ पाएको हो।
चैत २१ गतेदेखि सुरु हुने तेस्रो संस्करणमा जनकपुर बोल्ट्स पनि जोडिएको छ । प्रतियोगितालाई सफल बनाउन जनकपुर बोल्ट्सले आयोजक क्लब र खेलाडीलाई जर्सी उपलब्ध गराएको छ । प्रतियोगिताको विषयमा जानकारी दिन मंगलबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएर जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले क्लबलाई जर्सी हस्तान्तरण गरेका छन् । अमेरिका बसोबास गर्ने उत्सव हाल इयू टी–२० लिगका लागि बेल्जियममा छन् । जनकपुर बोल्ट्सको लगानीकर्ता ड्रिम स्पोट्र्सले बेल्जियममा इयू टी–२० लिग खेल्ने जेबि ब्रुजको स्वामित्व समेत लिएको छ ।
उत्सवको अनुपस्थितीमा सिमरा आएका पिता महेशले नेपालको क्रिकेटको विकासका लागि आफूहरु लागिपरहेको बताए । क्रिकेटको विकासले मात्रै देशमा सद्भाव कायम गर्ने र देशको विकासमा कोशेढुंगा सावित हुने सिग्देलको भनाई थियो । सिग्देलले जीतपुर सिमरा क्रिकेट कपलाई आगामी दिनमा अझै भव्य र नतिजामूलक बनाउन आफूहरुले सहयोग गर्ने बताए । उनले क्रिकेटकै विकासका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराए आफूहरु रंगशाला समेत निर्माण गरिदिने उद्घोष गरे ।








