व्यवसायी दिपक भट्टसँग जोडिएका २६ जनाको बयान, ६ अर्बको कारोबारमा संलग्नता देखिएको छ । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा केही गम्भीर तथ्य फेला परेपछि सरकारले मंगलबारबाट उनको पासपोर्ट रोक्का गरेको छ। उनी र उनीसँग जोडिएको परिवारका सदस्य तथा व्यापारीहरूको कारोबार २०७८ सालमै शंकास्पद देखिए पनि त्यति बेला गम्भीर छानबिन हुन सकेको थिएन। पूर्वप्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि उनकै चासोमा असोजदेखि भट्टको फाइल फेरि खोलेर अनुसन्धान तीव्र पारिएको थियो। खनालकै कार्यकालमा सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट अर्थ मन्त्रालय मातहत पनि ल्याइएको थियो। त्यसपछि विभागको महानिर्देशक परिवर्तन गरेर भट्ट लगायतका पुराना फाइलहरूमा पुनः अनुसन्धान सुरू गरिएको हो।विभागले व्यापारी र उच्च तहका नेता तथा पदाधिकारीहरूसँग कनेक्सन राखेर काम गरेको भन्दै भट्ट र उनीसँग जोडिएका २६ जनासँग कात्तिकबाट बयान लिन सुरू गरेको थियो। उनीहरूको बयान चैत दोस्रो साता सकिएको विभाग स्रोतले जानकारी दियो। बयान लिइएका २६ जना सबैविरूद्ध मुद्दा चलाउनुपर्छ कि पर्दैन भन्ने अझै निर्क्यौल भएको छैन। भट्टमाथिको अनुसन्धानमा भने गम्भीर तथ्य फेला परेपछि उनको पासपोर्ट रोक्का राखिएको विभाग स्रोतले बताएको छ।








