भालुबाङ्ग । लुम्बिनी प्रदेशको राजधानी दाङमा प्रदेश सरकारको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरू रहने प्रशासनिक केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो ।
प्रदेश राजधानी कार्यान्वयन एकाइका इन्जिनियर प्रदीप भट्टराईले निर्माण कम्पनीले मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालय भवन निर्माणको काम सम्पन्न गरेको जानकारी दिए । प्रदेश सरकारले नयाँ भवनमा कहिले सर्ने भन्ने औपचारिक निर्णय गर्न बाँकी रहेको बताउँदै उनले नयाँ वर्षदेखि ती भवन प्रयोग गर्न मिल्ने जानकारी दिए ।
पुराना भवन र नयाँ भवन प्रयोग सम्बन्धी प्रदेशको सहरी विकास मन्त्रालयका सचिव वासुदेव पौडेलको संयोजकत्वमा बनेको अध्ययन टोलीले प्रमुख सचिवलाई प्रतिवेदन बुझाइसकेको छ । उक्त अध्ययन टोलीले बुझाएको प्रतिवेदनका आधारमा कुन मन्त्रालय कहाँ राख्ने, महाशाखा कहाँ कसरी राख्ने, क्वाटर तथा पुरानो भवन के–कसरी प्रयोग गर्ने टुङ्गो लगाइने छ ।
उक्त अध्ययन टोलीको सदस्यसचिव समेत रहेका इन्जिनियर प्रदीप भट्टराईले भने, ‘निर्माणको काम सकिएको छ । अध्ययन टोलीले प्रतिवेदन पनि बुझाएको छ । अब सरकारले निर्णय गरेमा नयाँ वर्षदेखि नयाँ भवनबाट काम गर्न सकिने छ, तर त्यो निर्णय गर्ने काम सरकारको हो ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं कृषिमन्त्री दिनेश पन्थीले पनि प्रशासनिक भवन निर्माणको विषयमा अब केही समयपछि सरकारले निर्णय गर्ने बताए । उनले निर्माण तथा फिनिसिङको काम सकिएकाले अध्ययन टोलीको प्रतिवेदन समेत हेरेर नयाँ भवनमा सर्न आवश्यक निर्णय गरिने जानकारी दिए ।










