२०८३ बैशाख ६ आईतवार
Search
२०८३ बैशाख ६ आईतवार

तराई–मधेसकेन्द्रित दलहरू एकीकृत हुने गृहकार्यमा

 

        काठमाडौँ । चुनावमा पराजित भएपछि तराई–मधेसकेन्द्रित दलहरू एकीकृत हुने गृहकार्यमा लागेका छन् । यसको पहल जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर स्वयंले गरेका छन् । सम्पूर्ण मधेसवादी दल चुनावमा पराजित भएको बेला राष्ट्रिय सभा सदस्य बन्न सफल अध्यक्ष ठाकुरले पार्टी तथा सम्पूर्ण मधेसवादी दलबिच एकताका लागि पहल थालेका थिए । यसका लागि उनले मधेसवादी दलका नेताहरूसँग परामर्श थालिसकेका छन् । तर विगतमा यी दलहरूबिच एकता नभएको भने होइन । विभिन्न छ वटा दल मिलेर २०७४ मा राष्ट्रिय जनता समाजवादी पार्टी (राजपा) नेपाल बनेको थियो । पछि राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीबिच २०७७ वैशाखमा एकता भएर जसपा नेपाल बनेको थियो । २०७८ भदौमा जसपा नेपाल विभाजन भयो । महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारीहरू निस्केर लोसपा नेपाल बनाएका थिए । पाँच वर्ष नबित्दै लोसपा नेपाल र जसपा नेपालबिच २०८२ पुसमा पुनः एकीकरण भई जसपा नेपाल कायम भएको थियो । अब बाँकी रहेका अन्य मधेसवादी दलहरू–राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनमत पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल संघीय समाजवादी पार्टी लगायतसँग एकता गरी मधेसमा एउटा बृहत् शक्ति बनाउने योजनाअनुसार अगाडि बढिरहेको जसपा नेपालका नेता रामकुमार शर्माले बताए । जसपा नेपालका संरक्षक ठाकुरले मधेसवादी दलका अन्य शीर्ष नेताहरूसँग छलफल गरी एकता प्रक्रियालाई अगाडि बढाउने तयारी रहेको बुझिएको छ । तर अहिलेका अध्यक्षहरूको नेतृत्वमा एकताको कुनै अर्थ नरहने राजनीतिक विश्लेषक विजयकान्त कर्ण बताउँछन् । उनी भन्छन्, ‘मधेसवादी दलका अध्यक्षहरू राजनीतिक रूपले मात्र होइन, नैतिक रूपले पनि पराजित भएकाले अब उहाँहरूले अध्यक्ष पदबाट राजीनामा दिएर पार्टी युवापुस्तालाई सुम्पेर मात्र एकताको कुरा अगाडि बढाउँदा ठीक हुन्छ ।’ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष राजेन्द्र महतो र जसपा नेपालका संरक्षक महन्थ ठाकुरले आ–आफ्नो पदबाट राजीनामा दिएर युवापुस्तालाई जिम्मेवारी सुम्पे मात्र मधेसी जनताले पत्याउने छन् । 

अहिले मत नदिनुको अर्थ मधेसी जनताले उनीहरूको नेतृत्वलाई अस्वीकार गरेको हो भन्ने मधेस मामिलाका जानकार चन्द्रकिशोरले बताए । मधेसवादी दलबाट मधेस अलग भइसकेको छ । अब मधेसलाई जोड्न यी पुराना नेता तथा पुरानै सोचले नहुने बताउँदै उनले भने, ‘नारा र नेता दुवै परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।’

अब पनि पुरानै सोचले मधेसको राजनीति अगाडि नबढ्ने जसपा नेपालका महासचिव रामकुमार शर्मा बताउँछन् । भन्छन्, ‘मधेसवादी दलका जति जना अध्यक्ष हुनुहुन्छ, उहाँहरूलाई ससम्मान बिदाइ गरेर पार्टीको नेतृत्व युवापुस्तालाई दिनुपर्छ, अनि मात्र नयाँ ढंगले मधेसको राजनीति अगाडि बढ्छ,’ उनले भने । पार्टीका अध्यक्ष एवं वरिष्ठ नेताहरूका लागि पार्टीमै एउटा स्थान ताकेर सम्मान राख्ने र पार्टीलाई दोस्रो वा तेस्रो पुस्तालाई सुम्पिने, त्यसपछि मात्र मधेसी थारू  जनजाति, खसआर्यसमेत रहेको बृहत् पार्टी एकता प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।  

Picture of लाल बिहानी

लाल बिहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।