काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । आगामी चैत अन्तिम साता हुने निर्वाचनका लागि व्यवसायीहरूका बिचमा चुनावी सरगर्मी बढेको छ । संशोधित विधानले ल्याएको नयाँ व्यवस्था र फेरिएको नेतृत्व चयनको प्रक्रियाबिच चैत २९ र ३० गते हुने ६०औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्वका लागि हिजो आइतबार उम्मेदवारी दर्ता सकिएको छ । महासंघको चुनावमा ११८ जनाले उम्मेदवारी दिएका छन् । कुल ७३ पदमा हुने निर्वाचनमा १४१ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले लाल बिहानीलाई जानकारी दिए । पहिलोपटक महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था छ । जिल्ला–नगरतर्फ दुई जना उपाध्यक्ष रहने व्यवस्था छ । महासंघको कार्यसमितिमा दुई जिल्ला–नगर, वस्तुगत, एसोसिएट र महिला गरी पाँचजना उपाध्यक्ष निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षको चयन भने कार्यकारिणी समितिले गर्ने व्यवस्था छ । यसबिचमा वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको थियो । तर अब कार्यकारिणी समितिले चयन गर्ने छ । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र भावी अध्यक्ष अञ्जन श्रेष्ठको शक्ति सन्तुलनका बिच नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । महासंघमा विगतका वर्षजस्तो यस पटक आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने छैन। विधान संशोधन गरी हालका वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने र त्यसपछिको अध्यक्ष भने प्रत्यक्ष निर्वाचनबाट छान्ने व्यवस्था गरेको छ। अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो। तर वरिष्ठ उपाध्यक्षमा पनि यस्तै प्रवृत्ति कायम रहँदा पुरानै व्यवस्थामा महासंघ फर्किएको छ । विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष रहेकी भवानी राणा यस व्यवस्थाअनुरुप पहिलो अध्यक्ष बनेकी थिइन्। महासंघमा यसपटक दुई मुख्य समूहबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । एकतर्फ वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको बलियो समर्थन पाएको ’हेमराज ढकाल समूह’ छ भने अर्कातर्फ आगामी अध्यक्ष बन्न लागेका अञ्जन श्रेष्ठको सहानुभूति र समर्थन पाएको ’शिवप्रसाद घिमिरे–प्रबलजंग पाण्डे समूह’ चुनावी मैदानमा उत्रिएको छ ।










