सोलुखुम्बु : हिउँको ठूलो ढिस्कोले बाटो छेकिँदा १ हजारभन्दा बढी सगरमाथा आरोहण दलका सदस्यहरू सगरमाथा आधार शिविर (बेस क्याम्प) मा अड्किएका छन् । बाटो खुलाउन ८ जना ‘आइसफल डाक्टर’ ले निरन्तर एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।
सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र पहिलो शिविर (क्याम्प वान) को बीचमा हिउँको ठूलो ढिस्कोले बाटो छेक्दा आरोहण दलका सबै सदस्यहरू आधार शिविरमै रोकिएका हुन् । बाटो खुलाउन निरन्तर प्रयास भए पनि सफलता नमिल्दा आरोहीहरू अन्योलमा परेका छन् । आधार शिविरमा रहेका आरोहण दलका सदस्य फुर्ते शेर्पाले जानकारी दिएअनुसार बाटोमा विशाल हिउँको ढिस्को बनेका कारण यो सिजनका कुनै पनि आरोहण दल अघि बढ्न सकेका छैनन् ।
बाटो अवरुद्ध हुँदा चिनियाँ, अमेरिकी, युरोपियन, नेपाली कुनै पनि आरोहण दलका सदस्यहरू अघि बढ्न सकेका छैनन् । बाटो खुलाउनका लागि नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी), पर्वतारोहण सञ्चालक संघलगायतको टोली आइसफल डाक्टरको सहायतामा प्रयास गरिरहेको छ । सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बाटो अवरुद्ध भएका कारण आधार शिविरमा भीडभाड बढेको र कुनै पनि आरोहण दल अघि बढ्न नसकेको जानकारी दिए ।
पर्यटन विभागले यो वर्ष ४ सयभन्दा बढीलाई आरोहण अनुमति दिएको छ । तिनका गाइड र सहयोगीहरू सबै गरेर झन्डै १ हजार जना आरोहण दलमा हुने विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताए । उक्त हिउँको ढिस्को पूरै पग्लिन अझै केही दिन लाग्ने हुँदा सगरमाथा आरोहण केही समयका लागि अवरुद्ध हुने देखिएको छ । विज्ञहरूले वैकल्पिक बाटोको खोजी गरिरहे पनि त्यो सम्भव नभएको आरोहीहरू बताउँछन् ।
केहीले जोखिम मोलेर घुमाउरो बाटो भएर सगरमाथा जान सक्ने सम्भावना भए पनि त्यो खतरामुक्त भने छैन । ‘त्यसो गर्नुभन्दा केही दिन कुरेर ढिस्को पूरै पग्लिएपछि आरोहणमा जानु उपयुक्त हुने हाम्रो निष्कर्ष छ,’ एसपीसीसीका अध्यक्ष छिरिङ लामाले सुझाव दिएका छन् ।
सरकारले एसपीसीसीलाई दोस्रो शिविरसम्म र सञ्चालक संघलाई त्यसभन्दा माथिको बाटो बनाउने जिम्मेवारी तोकेको छ । अवरुद्ध बाटो बनाउने कामलाई ‘रोप फिक्सिङ’ भनिन्छ । तर, योपटक बाटोमा ठूलो र चुनौतीपूर्ण ढिस्को बनेका कारण आइसफल डाक्टरहरू बाटो बनाउन असफल भएका हुन् । अनुभवी आरोहीहरूका अनुसार केही दिन कुर्दा उक्त ढिस्को आफैं पग्लिन सक्ने भएकाले आरोहण दलका सबै सदस्यहरू तल आधार शिविरमै कुरेर बसेका हुन् ।
उक्त ढिस्को अर्थात् ‘सर्याक’ करिब १०० मिटर अग्लो छ । उक्त ढिस्को फुटाउनुभन्दा कुरेर पग्लिएपछि बाटो सफा हुने विकल्प अनुभवीहरूले रोजेका हुन् । ढिस्कोको उत्तम वैकल्पिक बाटो नभएका कारण पनि आरोहीहरू समस्यामा परेका हुन् । बाटो रोकिएपछि गोक्यो क्षेत्र आइपुगेका फुर्वा तेन्जी शेर्पा भन्छन्, ‘केही दिन माथि बाटो अवरुद्ध छ । यसले खर्च त बढ्ने भयो, तर पनि सुरक्षित तवरले नै आरोहण गरौं भनेर हामी पर्खिरहेका छौं ।’









