काठमाडौं : नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’मार्फत आइतबार ८४ खेलाडी आबद्ध गरेका छन्। जसमा नेपाली खेलाडी ५४ छन्, भने विदेशीको संख्या ३० छ।
प्लेयर्स ड्राफ्टमा छनोट गरिएका एक सय ४२ जना नेपाली खेलाडीलाई तीन क्याटगोरीमा वर्गीकरण गरी राखिएको थियो। विदेशी खेलाडीतर्फ १४ देशका ८० खेलाडीलाई पनि तीनै क्याटगोरीमा राखिएको थियो। त्यसमध्ये पहिलो सिजनका १० खेलाडीलाई रिटेन गरिएको थियो। प्रत्येक टिमलाई बढीमा दुई खेलाडी रिटेन गर्ने सुविधा दिइएको थियो। बाँकी ७४ खेलाडी ड्रफ्टमार्फत लिइएको हो।
जेठ २२ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एनकेएलमा विराटनगर बाहुबली (कोशी प्रदेश), साविक विजेता जनकपुर नाइट्स (मधेस प्रदेश), काठमाडौं माभरिक्स (बागमती प्रदेश), पोखरा लेकर्स (गण्डकी प्रदेश), बुटवल बुल्स (लुम्बिनी प्रदेश) र धनगढी वाइल्डक्याट्स (सुदूरपश्चिम प्रदेश) ले प्रतिस्पर्धा गर्दैछन्।
साविक विजेता जनकपुरले अलराउन्डर राजु टमाटा र थाई रेडर चायफोन कामुनीलाई रिटेन गर्यो भने काठमाडौंले राष्ट्रिय टिमका कप्तान घनश्याम रोका मगरलाई निरन्तरता दियो।









