सुनसरी : सुनसरीको इटहरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शनिबार राति इटहरी उपमहानगरपालिका–११ स्थित एक घरमा छापा मारी हाल सम्मकै ठुलो परिणामको लागू औषध बरामद गरेको छ।
इलका प्रहरी कार्यालय इटहरीका डिएसपी शुवास हमालका अनुसार सो स्थानमा बस्दै आएका भारतको बिहार राज्य नरपतगंज स्थायी ठेगाना भएका २९ वर्षीय मोहमद सहनेवाजको कोठाबाट प्रतिबन्धित लागू औषध ट्रामाडोल ५० हजार ५४० क्याप्सुल र डाईसाईक्लोमिन ९ हजार ५२० ट्याब्लेट बरामद गरिएको गरि कुल ६० हजार ६० पिस लागूऔषधसहित उनलाई नियन्त्रणमा लिइएको हाे। पक्राउ परेका सहनेवाजलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको हमालले बताएका छन् ।
प्रहरीका अनुसार नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै भारतीय तस्करहरू नेपालका विभिन्न स्थानमा डेरा गरी बस्ने र लागू औषध कारोबारमा संलग्न हुँदै आएका छन्। सुनसरी प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले हालसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद गरिएको दाबी गरे। यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सुनसरी जिल्लामा ‘स्वीप अपरेशन’ सञ्चालन गर्दै आएको र त्यसकै क्रममा उक्त सफलता हात लागेको एसपी थेबेले जानकारी दिए।








