काठमाडौं : भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ठूलो दुर्घटना टरेको छ । जुरिचतर्फ उडान भर्न लागेको स्विस एयरको जहाज उडानकै क्रममा इन्जिनमा समस्या आएपछि आगलागी भएको हो।
नयाँ दिल्लीबाट स्विजरल्याण्डको जुरिचतर्फ उडान भर्ने क्रममा उडान नम्बर LX147(Airbus A330) को एउटा इन्जिन टेकअफको क्रममा फेल भएपछि धुवाँ निस्किएको थियो। जहाजको बायाँ भागबाट धुवाँ देखिएको र दायाँ ल्यान्डिङ गियर नजिकै आगो देखिएपछि चालक दलले तत्काल उडान रोकेर आपतकालीन निकासी गरिएको एयरलाइन्सले जनाएको छ।
जहाजमा सवार २३२ यात्रु र १३ जना चालक दलका सदस्यलाई आपतकालीन स्लाइडमार्फत् सुरक्षित रूपमा बाहिर निकालिएको थियो। केही यात्रुलाई स्लाइड प्रयोग गर्न नसक्ने अवस्था भएकाले सिँढीमार्फत् निकालिएको थियो।
निकासीका क्रममा भागदौड हुँदा ६ जना यात्रु घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ। घटनापछि विमानस्थलको रनवे २८ केही समयका लागि अवरुद्ध हुँदा उडान प्रभावित भएको थियो । एयरलाइन्सले घटनाबारे अनुसन्धान गर्न प्राविधिक टोली दिल्ली पठाउने जनाएको छ।








