थाइल्यान्ड : थाइल्यान्डको राजधानी बैंककमा एउटा मालवाहक रेलले सार्वजनिक बसलाई ठक्कर दिँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ र दर्जनौं मानिस घाइते भएका छन् ।
दिउँसोको समयमा, एयरपोर्ट रेल लिंक स्टेशन नजिकै रहेको व्यस्त क्षेत्रमा बस र वरिपरिका केही सवारी साधनमा आगो लागेको थियो । बैंककको आपतकालीन सेवा एरावान मेडिकल सेन्टरले मृत्युको संख्या पुष्टि गरेको छ भने बैंकक प्रहरी प्रमुख उरुम्पोर्न कुन्डेजसुमरिटले कम्तीमा ३५ जना घाइते भएको एएफपी समाचार संस्थालाई बताएका छन् ।
उप–परिवहन मन्त्री सिरिपोङ अंग्कासाकुलकियातले घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दै सबै मृतकहरू बसभित्रै भेटिएको बताए । तर बसमा कति जना यात्रु थिए भन्ने स्पष्ट भइसकेको छैन । प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनाबारे अनुसन्धान गर्न आदेश दिएका छन् । दुर्घटना स्थानीय समय अनुसार दिउँसो करिब ३ः४० बजे भएको हो ।









