वीरगञ्ज : प्रहरीले नियन्त्रणमा लिएका वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पर्सा जिल्ला अदालतमा चार लाख १५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । नागरिकता लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएका मेयर सिंह अदालतको आदेश अनुसार धरौटी रकम बुझाएर मंगलबार नै साँझ रिहा भएका हुन् ।
पर्साको ठोरी गाँउपालिका–२ स्थित ठोरी जंगल रिसोर्टबाट मंगलबार बिहान ६ बजेतिर मेयर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा उपस्थित गराएको थियो । त्यसपछि मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीले मेयर सिंहको बयान लिएका थिए । बयान सकिएपछि उनीविरुद्ध रेग्मीकै इजलासमा थुनछेक बहस भएको थियो । थुनछेक बहसपछि रेग्मीको एकल इजलासले झुठा विवरण पेश गरेर नागरिकता बनाएको कसूरमा १५ हजार र लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले जानकारी दिए । अदालतको आदेश अनुसार धरौटी रकम बुझाएपछि प्रहरीले मेयर सिंहलाई अदालत परिसरबाटै रिहा गरिदिएको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।
सरकारी वकिलको कार्यालयका अनुसार वीरगन्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । त्यहि उजुरीका आधारमा मेयर सिंहविरूद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो ।









