काठमाण्डौ,असौज ५ : रुसमा संसदीय चुनावको तेस्रो तथा अन्तिम दिन युक्रेनले १ हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ। रूसको संसदीय चुनाव आइतबार सम्पन्न भएको थियो ।
रूसले शनिबार रातिदेखि आइतबार बिहानसम्म युक्रेनले हानेको १ हजार ११० वटा ड्रोन खसालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसी रक्षा मन्त्रालयका क्राइमिया र ब्ल्याक सीको क्षेत्रमा गरी १ हजार ११० युक्रेनी ड्रोन खसालिएको छ । तीमध्ये सयौं ड्रोन राजधानी मस्कोतर्फ लक्ष्य गरी हानिएका थिए ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीमाथि भएको आक्रमणलाई अहिलेसम्मकै ठूलो ड्रोन हमला बताएका छन् । उनका अनुसार मस्कोतर्फ आउँदै गरेका ४५० ड्रोन नष्ट गरिएको थियो ।
आक्रमणबाट मस्को आयल रिफाइनरी र एउटा आवासीय भवनमा क्षति पुगेको बताएको समाचार संस्था एसोसिएटेड प्रेस (एपी)ले लेखेको छ।
मस्को वरपरको क्षेत्रमा भएको आक्रमणमा भने दुई जनाको मृत्यु भएको एपीले जनाएको छ।
गभर्नर आन्द्रे भोरोब्योभका अनुसार मृत्यु हुनेमा ७४ वर्षीय पुरुष र ४४ वर्षीया महिला छन्। घटनामा २० जना घाइते भएका छन् ।
सोब्यानिनले ड्रोन हमला चुनावमा अवरोध पुर्याउने प्रयास भएको दाबी गरे पनि त्यसमा युक्रेन सफल नभएको बताएका छन् ।
रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको नीतिको प्रभाव रहेको र प्रमुख विपक्षी शक्तिहरू कमजोर पारिएको अवस्थामा संसदीय चुनाव भएको थियो ।
रुसले युद्ध सुरु भएपछि पहिलोपटक युद्धकै बीचमा संसदीय चुनाव गरेको हो । चुनावको अन्तिम दिन भएको युक्रेनी ड्रोन हमलाले चुनावी प्रक्रियासँगै रुसको राजधानी र अन्य क्षेत्रमा युद्धको प्रत्यक्ष प्रभाव देखाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनले ड्रोनसँगै विभिन्न क्षेप्यास्त्र प्रयोग गरी रुसका तेल तथा सैन्य रसदसम्बन्धी पूर्वाधारलाई निशाना बनाएको बताएका छन् ।
उनले युक्रेनमै निर्मित फ्लेमिङ्गो र पेलिकन क्षेप्यास्त्र पनि प्रयोग गरिएको दाबी गरेका छन्। तेल तथा रसद संरचनामा गरिएको आक्रमणबाट रुसको युद्ध सञ्चालन गर्ने क्षमतामा आर्थिक दबाब सिर्जना गर्ने उद्देश्य रहेको उनको भनाइ छ। जबाफमा रुसले गएराति युक्रेनमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ। राजधानी किभ क्षेत्रमा रातभर भएको रुसी ड्रोन आक्रमणमा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । आक्रमणमा एक आमासहित उनका तीन वर्षका जुम्ल्याहा दुई बालबालिकाको पनि मृत्यु भएको थियो।
सुमीमा भएको अर्को रुसी आक्रमणमा एक जनाको मृत्यु भएको र एक जना घाइते भएका छन्। पूर्वी दोनेत्स्कको क्रामातोर्स्कमा पनि रुसी गोलाबारीमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रुसमाथि लामो दूरीका ड्रोनबाट युक्रेनले लगातार आक्रमण गर्दै आएको छ। रुसले पनि युक्रेनी सहर र पूर्वाधारमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण जारी राखेको छ।
पछिल्लो समय करिब १ हजार २५० किलोमिटर लामो अग्रपंक्तिमा स्थल युद्ध केही सुस्त देखिए पनि दुवै पक्षबीच लामो दूरीका हवाई आक्रमण तीव्र भएको एपीले जनाएको छ।












