काठमाडौं, असौज ५: बंगालको खाडीमा विकसित हुनसक्ने चक्रवात (समुद्री आँधी) को कारण बिहीबारदेखि ४ दिनसम्म नेपालमा भारी वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेलले भारी वर्षाको संभावना लगभग पक्का जस्तै देखिएको बताए ।
बिहीबारदेखि सोमबारसम्म (८ गतेदेखि १२ गतेसम्म भारी वर्षाको संभावना रहेको उनको भनाइ छ। करिब आधादर्जन मौसम पूर्वानुमान मोडेलहरूको अवलोकन गर्दा सबैले पानी पर्ने देखाएको पोखरेलले बताए । ‘मौसम प्रणाली छिटोछिटो सरेमा धेरै समय पानी पर्दैन,’ उनले भने, ‘तर, अहिलेको अवस्था हेर्दा तीन–चार दिनसम्म पानी पर्ने देखिएको छ।’ लगातार धेरै दिन र धेरै समय पानी पर्दा क्षति पनि नराम्रो गर्ने संभावना रहेकाले बेलैमा सचेत हुन उनले सुझाव दिए ।
उनका अनुसार भारतको उत्तरपश्चिमतिर मनसुन सकिएको छ। तर, त्यहाँबाट सुक्खा हावा आइरहेको र बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीलाई उक्त हावाको दबाबले रोकीदिने भएकाले नेपालतिर सबैभन्दा धेरै वर्षा गराउने गरेको पोखरेलले बताए।
पोखरेलका अनुसार सामान्यत चक्रवात मनसुन सकिएपछि सुरु हुन्छ। यसको सुरुवात अक्टोबर महिनामा हुन्छ । तर, यतिबेला सेप्टेम्बरमा चक्रवात बन्ने प्रक्रियामा रहेको छ। ‘बंगालको खाडीमा बन्दै गरेको चक्रवात भारतमा (जमिनमा पुग्ने समय) ल्यान्डफल भए पनि यसको असर नेपालसम्म पुग्छ,’ उनले भने, ‘ यस्तो समयमा न्यून चापीय प्रणालीले आद्र्रता धेरै ल्याएको हुन्छ। त्यसले अत्यधिक वर्षा गराइदिन्छ।’
जल तथा मौसम विज्ञान विभागले चक्रवातको विकास भएको जस्तो देखिएको र निरन्तर अनुगमन गरेर चाँडै विशेष बुलेटिन प्रकाशित गर्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने भन्छन्, ‘अहिलेको अवस्था हेर्दा बंगालको खाडीमा चक्रवात बन्ने जस्तो देखिन्छ तर अहिले नै केही भन्न सकिन्न। पानी पर्ने सम्भावना भए पनि कहाँ, कति, कसरी पर्छ भन्नेमा अहिले नै भन्न सकिन्न। मोनिटरिङ गर्दै छौं। अझै ४,५ दिन बाँकी छ।’












